काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षामा लघुवित्त संस्थाहरु पुँजी बढाउन हल्ला चलेपछि सेयर बजार प्रभावित भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत लघुवित्त कम्पनीहरुको सेयर मूल्य उचालिएपछि नेप्से परिसूचक माथि चढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार सेयर बजार ७० अंकले बढ्दा ३१ वटा लघुवित्त संस्थाको सेयर मूल्य ९ प्रतिशत बढेको छ ।
यस्तै ७ वटा लघुवित्तको सेयर मूल्यमा ‘पोजेटिभ सर्किट’सम्म लागेको छ । बुधबार लघुवित्त समूह २३२ अंकले बढेको छ । मिथिला लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, विजय लघुवित्त, लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेरुड लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ ।

नेप्से परिसूचक बढेर २ हजार ७० अंकमा पुगेको छ । यो हालसम्मको उच्च परिसूचक हो । बुधबार बजार ७ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ६४ हजार ४२७ कित्ता सेयर किनबेच भएको छ । नेपाल टेलिकमको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।
टेलिकमको प्रतिकित्ता १ हजार २९२ मा ४० करोड रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ९९७ मा ३० करोड ६२ लाख र नबिल बैंकको १ हजार १२५ मा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
बुधबार व्यापार बाहेक बैंक तथा वित्त, जलविद्युत्, उत्पादनमूलक, बिमा र म्युचअल फण्ड परिसूचक बढेको छ ।
