काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीको मनोबल बढ्दै गएको बताएका छन् । पछिल्लो समयमा कर्जाको ब्याजदर घट्दै गएकाले लगानीको वातावरण बनेको र यसले व्यवसायीको मनोबल बढ्न थालेको बताए ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशको मौद्रिक नीतिको समीक्षा गर्दै गभर्नर अधिकारीले यस्तो जानकारी दिएका हुन् । बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले हालका लागि लगानीको समस्या नरहेको उनले स्पष्टपारे । अधिक तरलताले गर्दा कर्जा र निक्षेपको ब्याजदर घटेको उनको भनाई ।
‘कर्जाको ब्याजदर घटेकाले व्यवसायिक मनोबल बढेको र निजी क्षेत्रतर्फ कर्जा प्रवाह गरेर प्रोत्साहित गर्न प्रसस्त तरलता रहेको छ’ उनले भने । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि यसलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले दुई पटक गरी ६० अर्ब रुपैयाँ प्रशोचन गरेको उनले सुनाए ।
अझै पनि बैंकिङ प्रणालीमा १ खर्ब २० अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । ३ महिनाको अवधिमा २ खर्ब १९ अर्बको निक्षेप संकलन र २ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकाले अवस्था सहज हुँदै गएको उनको तर्क छ ।
यही अवस्था रहे केही दिनपछि नै तरलताले समस्या आउन सक्ने गभर्नर अधिकारीले जानकारी गराए । कोभिडको असर जारी रहेकाले केन्द्रीय बैंकले मौद्रिक नीतिलाई खुला बनाउने गभर्नर अधिकारीले स्पष्टपारे ।
कोभिडबाट प्रभावित व्यवसायबाट पुर्नकर्जा ७९ अर्ब ४ करोडको आवेदन पारेकोमा ५० अर्ब रुपैयाँँ स्वीकृत गरेको छ । २३ अर्ब रुपैयाँ मंसिर १५ भित्र प्रवाह भइसकेको र बाँकी क्रमशः प्रवाह हुँदै जाने छ ।
पुर्नकर्जा लिनेको संख्या ४१ हजार छन् । सबै क्षेत्रका ग्राहक परेकाले यस पटक पुर्नकर्जा छरिएर गएको केन्द्रीय बैंकको भनाई छ । हालसम्म ७२ अर्ब रुपैयाँ सहुलितय कर्जा ४१ हजार ऋणीलाई प्रवाह भएको छ ।
लगानीकर्ताको मनोवल बढेको, बाह्य क्षेत्र राम्रो रहेको, ब्याजदर स्थिर राख्ने र निक्षेपको ब्याजदर घट्न नदिने नीति केन्द्रीय बैंकको रहेको अधिकारले सुनाए ।
विश्वभरी नै कोभिडले सरकारी खर्च बढेको छ । कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १२ प्रतिशतसम्म खर्च भएको उनले जानकारी दिए । दसैंपछि आर्थिक गतिविधि चलायमान हुन थालेको हो ।
थप आर्थिक गतिविधि बढाउन अवस्था सहज अवस्था रहेको केन्द्रीय बैंकको निश्कर्ष छ । रियल स्टेट र सेयरधितो कर्जामा पुनरावलोकन गरिने भएको छ ।