काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले जहिले पनि भन्ने गर्थे– कस्ता वस्तुको आयात बढिरहेको छ भन्ने कुराले देशको अर्थव्यवस्था कता जाँदै छ भन्ने संकेत गर्छ ।
औद्योगिक कच्चा पदार्थ आयात बढिरहेको छ कि, तयारी वस्तुको बढिरहेको छ । त्यो कुरालाई विश्लेषण गरेपछि मात्रै देशको अर्थव्यवस्था कुन दिशातिर अघि बढ्दै छ भन्ने अनुमान लगाउनु उपयुक्त हुन्छ भन्ने खतिवडाको बुझाइ थियो ।
यदि गाडी, सुन तथा विलासी वस्तुको आयात बढिरहेको छ भने त्यसले देशको अर्थव्यवस्थालाई नकारात्मक दिशातर्फ धकेलिरहेको हुन्छ । तर, औद्योगिक कच्चा पदार्थको आयात बढेर देशमा व्यापार घाटा बढिरहेको छ भने त्यसलाई अर्थतन्त्रका दृष्टिकोणबाट राम्रो रूपमा लिनुपर्छ ।
त्यही भएर खतिवडा आफू अर्थमन्त्री हुँदा जहिले पनि विलासी वस्तुको आयातमा निर्मम नै भए । महँगा गाडी, सुनलगायतका वस्तु आयातमा उनले सकेसम्म कडाइ गरे । तर, औद्योगिक कच्चा पदार्थको आयात बढ्दा देशभित्रको अर्थतन्त्र चलायमान हुनुका साथै दिगो अर्थतन्त्रको निर्माण हुने उनको बुझाइ थियो ।
पछिल्ला केही दिनयता औद्योगिक कच्चा पदार्थको आयात ठूलो गिरावट आएको छ । यसले के संकेत गर्छ भने देशभित्र औद्योगिक उत्पादन घटेको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा औद्योगिक कच्चा पदार्थको आयातमा ठूलो गिरावट आएको छ ।
‘यसरी कच्चा पदार्थ आयात घट्नु भनेको अर्थतन्त्रका लागि शुभ संकेत होइन्,’ उद्योगी शशिकान्त अग्रवालले भने, ‘विलासी वस्तुको आयातमा कमी हुँदा त्यसले देशलाई फाइदै पुर्याउँछ । तर, औद्योगिक कच्चा पदार्थको आयात घट्ने बित्तिकै देशभित्र तयारी वस्तुको उत्पादनमा कमी आउँछ । यसले अर्थतन्त्रका विभिन्न क्षेत्रलाई नराम्ररी प्रभावित पार्छ ।’
भन्सार विभागका अनुसार कच्चा फलामको आयातमा कमी भएको छ । विभागका अनुसार आर्थिक २०७६÷७७ को पहिलो चौमासिक अवधिमा सुक्खा बन्दरगाहबाट ३ लाख ५९ हजार टन फलाम भित्रिएको थियो । चालू वर्षको समीक्षा अवधिमा यो परिमाण १ लाख ८५ हजार टनमा सीमित भएको छ ।
यसको अर्थ, नेपालमा रडको मागमा ठूलो गिरावट आएको छ ।
उद्योगले आफ्नो क्षमता घटाएका छन् । उद्योगीले क्षमता घटाउने बित्तिकै त्यसको अर्थतन्त्रमा ठूलो असर पर्ने उद्योगी शाहिल अग्रवालको भनाइ छ ।
गत वर्षको पहिलो चौमासमा उद्योगीहरूले ४८ हजार ४९५ टन बिलेट ल्याएका थिए । चालू वर्षको सोही अवधिमा ३४ हजार ६८२ टन बिलेट आयात भएको तथ्यांकबाट देखिएको छ ।
फलामबाहेक अन्य कच्चा पदार्थका आयातमा पनि ठूलो गिरावट आएको छ । त्यही भएकाले व्यापार घाटा कम भएको देखिएको हो । औद्योगिक कच्चा पदार्थको आयात घटेर व्यापार घाटा कम हुनु राम्रो संकेत नभएको अर्थविद् डा. शंकर शर्मा बताउँछन् । ‘विलासी वस्तुको आयातमा कटौती हुँदा त्यसले राम्रो गर्छ,’ उनले भने, ‘औद्योगिक उत्पादनमा चाहिने कच्चा पदार्थको आयात घट्दा खुसी हुनुपर्ने अवस्था होइन् ।’