काठमाडौं। आकाशमा दशौँ वर्षसम्म हजारौँ यात्रुलाई सुरक्षित उडान दिएका वरिष्ठ क्याप्टेन विजय लामा अब सडकमा पनि त्यही ‘सुरक्षा र अनुशासन’ बोकेर देखा परेका छन्। एलआरआर मोटर्सले उनलाई नेपालमा जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी)का लागि ब्रान्ड एम्बासडर घोषणा गरेको हो।
नाडा अटो शो २०२५ को चौथो दिन, एलआरआर मोटर्स र लामाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै यो सहकार्यको सुरुवात गरियो। यो केवल एउटा व्यावसायिक साझेदारी मात्र नभई ‘विमानको आत्मालाई सडकमा उतार्ने’ साहसी यात्राको सुरुवात भएको कम्पनीको भनाइ छ।
एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीका अनुसार, जेवाई एयर ईभीले 'विमान प्रविधिबाट प्रेरित नवप्रवर्तन, सुरक्षा र दिगोपनाको प्रतिनिधित्व गर्छ।'
लामाले पनि आफ्नो भाव व्यक्त गर्दै भने, 'जेवाई एयर केवल कार होइन, यो पाङ्ग्रामा ल्याइएको विमान हो। यसले सुरक्षा, अनुशासन र प्रविधिका उस्तै मूल्य बोकेको छ। म नेपाली चालकलाई सफा र स्मार्ट गतिशीलता अपनाउन प्रेरित गर्न उत्साहित छु।'

चिनियाँ अटो निर्माता जुनयाओ अटोको प्रिमियम ब्रान्ड जेवाई एयर नेपालमा पहिलोपटक प्रवेश गरेको हो। यसको दुई मोडल बजारमा आएका छन्-
• जेवाई एयर लाइट, जसको मूल्य ४९.९९ लाख रुपैयाँ,
• जेवाई एयर अल्ट्रा, जसको मूल्य ६३.९९ लाख रुपैयाँ।
अल्ट्रा भर्सनमा ६४ किलोवाटको ब्याट्री, ९९ किलोवाट मोटर, २५० एनएम टर्कसहितको शक्ति छ। ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म केवल २१ मिनेटमै डिसी फास्ट चार्जिङमार्फत चार्ज गर्न सकिन्छ।
एलआरआर मोटर्सले यस सहकार्यलाई नेपालमा दिगो गतिशीलताको नयाँ युगको सुरुवात मानेको छ। कम्पनीले विमाननको अनुशासन र विलासितालाई सडकमा उतार्दै वातावरणमैत्री समाधान दिने लक्ष्य लिएको छ।