काठमाडौं । बजारमा अहिले विभिन्न संस्थाले प्रयोगमा ल्याएको नयाँ उपकरण क्यूआर कोडबाट हुने भुक्तानीको कारोबार बढ्दै गएको छ । एकै महीनामै क्यूआर कोडबाट थप ८५ हजार ९ सय ७५ को संख्यामा रू.३२ करोड १० लाख कारोबार भएको छ । गत असोजमा मात्रै २ लाख ६५ हजारको संख्यामा रू. ९६ करोड ९० लाख बराबर यस्तो कारोबार भएको थियो । गत भदौमा यस्तो कारोबार १ लाख ७९ हजारको संख्यामा रू. ६४ अर्ब ८० लाख भएको छ ।
पछिल्लो समय क्यूआरबाट भुक्तानी बढ्दै गएकाले यसलाई थप व्यवस्थित र एकरूपता बनाउन नेपाल राष्ट्र बैंकले तयारी गरिरहेकोे छ । कारोबार संख्या बढेसँगै थप व्यवस्थित र एकरूपता कायम गर्न तयारी गर्न लागेको राष्ट्र बैंकले बताएको छ ।
केन्द्रीय बैंकले अन्तरराष्ट्रिय स्तरमा भएका मापदण्डलाई आधार मानेर थप व्यवस्थित गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार अन्तरराष्ट्रिय अभ्यासमा क्यूआर कोडमा को मान्छेले, कहिले, कुन ठाउँ र कुन मर्चेन्टबाट स्क्यान गरेको, कुन मोबाइलबाट, कुन खाताबाट कति रकम घट्यो र त्यसको पीएसओ सञ्चालक को हो र कारोबार गर्ने व्यक्तिको तीनपुस्ते ग्राहक पहिचान (केवाईसी) लगायत विस्तृत विवरण देखिन्छ । ‘यस्तो स्क्यान गर्दा तोकिएको विस्तृत तथ्यांक जुन सर्भरमा बस्नुपर्ने हो वा त्यो सबै विवरण एकपटक स्क्यान गर्दा देखिने र हामीहरूले खोज्दा भेटिने हुनुपर्यो । यसैले यसलाई व्यवस्थित गर्न खोजिएको हो,’ राष्ट्र बैंक स्रोतले भने, ‘अहिले जारी गरेका क्यूआर कोडमा यी सबै सूचना छैनन् । संस्थाहरूले आआप्mनो तरीकाले चलाएका छन् । यसैले सबैमा एउटै मापदण्ड हुनेगरी तयारी गर्न लागिएको हो ।’
केन्द्रीय बैंकले गर्न लागेको व्यवस्थालाई अनिवार्य रूपमा प्रयोग गरेर सञ्चालक कम्पनीले अरू थप व्यवस्था थप्न गर्न सक्ने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । पैसा कहाँ गयो भनेर खोज्नु परेमा सजिलो हुने गरी अन्तरराष्ट्रिय स्तरको बनाउन लागिएको उनको भनाइ छ । ‘बजारबाट नयाँनयाँ उपकरणको माग हुँदै आउँछ । यसलाई केन्द्रीय बैंकले सहज बनाउँदै लैजाने हो, ’ उनले भने ।

अहिले ठूला सुपरमार्केट, होटेल, रेस्टुराँमा आदिमा प्रयोग भइरहेका क्यूआर कोड अब किराना पसल, औषधि पसल, मासु पसल, स्टेशनरी र खाजा पसललगायत सबैतिर प्रयोग हुन्छ । अहिले नै धेरै ठाउँमा प्रयोग भइरहेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल युनिफाइड क्यूआर कोडको प्रयोगमा बैंकहरूबीच प्रतिस्पर्धा बढेको बताउँछन् । उनका अनुसार अधिकांश पसल, सपिङ मललगायतमा क्यूआर कोड प्रयोग गरी पैसा तिर्न सक्ने व्यवस्था गरिएको छ तर यसरी भुक्तानी गर्दा अधिकांश ठाउँमा वाईफाईको कमीले मोबाइलमा डाटा खोल्नुपर्ने, डाटा स्लो हुँदा भुक्तानीमा अवरोध हुनेजस्ता समस्या देखापरेको छ । यसैले यस्तो कारोबारका लागि इन्टरनेटको पहुँच पनि जरुरी भएको उनले औंल्याए । ‘क्यूआर कोड सुविधा दिने मर्चेन्ट एउटा व्यक्ति पनि हुनसक्छ । एउटा डालोमा तरकारी बेच्नेलाई पनि किन क्यूआर कोडको सुविधा नदिने ? नेपाल राष्ट्र बैंकले यस्तो कोडको सुविधा दर्ता भएका संस्थालाई मात्र दिने भएको छ,’ उनी भन्छन्, ‘तर, यसको पहुँच सबै क्षेत्रमा हुँदा तत्कालै डिजिटल भुक्तानीमा सहज हुन्छ । यस कारण समग्रमा आगामी दिनमा डिजिटल बैंकिङलाई उचाइमा पुर्याउन सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्था तीनै पक्ष मिलेर जान जरुरी छ ।’
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा राष्ट्र बैंकले युनिफाइड क्यूआर कोडका विषयमा केही कानूनी काम गर्नैपर्ने बताउँछन् । ‘भारतमा आधार नम्बर भएजस्तै नेपालमा पनि त्यस्तै कुनै विशेष नम्बर बनाउन आवश्यक छ । हाललाई मोबाइल नम्बरलाई नै युनिक आईडी मानेर काम गर्न सकिन्छ । त्यस्तै, नेपालीको स्मार्ट कार्ड पनि आउने क्रममा छ । राष्ट्र बैंकले त्यसलाई ट्याग गरेर अगाडि बढ्ने गरी काम गर्न आवश्यक छ,’ उनले भने । क्यूआर कोडका साथै अन्य विद्युतीय भुक्तानीबाट हुने कारोबार पनि उल्लेख्य मात्रामा बढेको छ । विद्युतीय माध्यम प्रयोगकर्तालाई विभिन्न स्किम, बम्पर उपहारलगायत सुविधा दिएकाले पनि सर्वसाधारण वालेटमा आकर्षित भएको पाइन्छ ।
गत असोजमा ईसेवा, आईएमई पे, खल्तीलगायत भुक्तानी सेवाप्रदायक संस्थाहरूबाट १ करोड १ लाख ७५ हजारको संख्यामा रू. ९ अर्ब ८८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । असोजमा मोबाइल बैंकिङबाट ७८ लाख ५० हजारको संख्यामा २८ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ ।