काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २९ गते सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्इयाएको छ । सार्वजनिक निष्कासनमार्फत बिक्रीमा आउने ५४ लाख कित्तामा मात्र अन्य सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रूपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रूपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ बिक्री गरेपछि कायम हुनेछ ।
छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म बिक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
यसैगरी इच्छुक आवेदकले सीडीएससीले सोमबारदेखि सञ्चालनमा ल्याएको मेरोशेयरको एपमार्फत पनि आवेदन दिन सक्नेछन्। यसअघि उक्त एपमा माईआस्बा सुविधा थिएन ।
साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
उक्त कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ गते अनुमति पाएको हो । कम्पनीले गत असोज १४ गते उक्त आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीको रुपमा विसं २०७४ साल मंसिर २८ गतेदेखि उक्त कम्पनीले औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म उक्त कम्पनीले ३ करोड ९ लाख २४ हजार रूपैयाँ खुद नाफा गरेको छ । यो रकम गत वर्षको यस अवधिमा १ करोड २२ लाख ९४ हजार रूपैयाँ थियो । नाफा वृद्धि गर्दै गएको उक्त कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म २५ करोड ९७ लाख ९१ हजार रूपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने ६१ लाख ६८ हजार रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीमा १ लाख २० हजार ४६९ बिमालेख कायम छ । यस वर्षको पहिलो त्रैमासमा मात्र कम्पनीले २२ हजार ५९४ बीमालेख कायम गरेको छ ।
यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम २३ करोड ९१ लाख ७९ हजार रूपैयाँ छ भने जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख ८५ हजार रूपैयाँ रहेको छ ।