काठमाडौं । जीवन बिमा र निर्जीवन बिमा कम्पनीको सेयर मूल्य चम्किए पछि सेयर बजार उचालिएको छ । साताको दोस्रो दिन सोमबार जीवन बिमा सूचकमा इतिहास रच्दै एक हजार विन्दू भन्दा बढीले बढेको छ ।
आइतबार १२६०८.३ बिन्दुमा रहेका जीवन बिमा सूचक सोमबार १३६४१.४२ अंकमा पुगेको छ । यसले जीवन बिमा कम्पनीहरुको सेयर मूल्यले नयाँ उचाइ प्राप्त गर्दै गएको छ ।
प्राइम लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इस्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशतले मूल्य बढेको छ । उता निर्जीवन बिमा कम्पनीहरुको सेयर मूल्यमा पनि उस्तै उछाल देखिएको छ ।
निर्जीवन बिमा कम्पनीहरुको सूचक पनि १००१९.४१ अंकमा पुगेको छ । सोमबार शिखर इन्स्योरेन्सले नयाँ रेकर्ड कायम राखेको छ । सेयर बजारमा बजार पुँजीकरणका हिसावले बैंकिङ समूहपछि बिमा समूहको उच्च हिस्सा छ । बिमा समूहको १६ प्रतिशत हिस्सा छ । ४५.९ प्रतिशत हिस्सा रहेको बैकिङ समूहको सूचक भने सामान्य अंकले (२१) बढेको छ ।
बजार पुँजीकरणका आधारमा ६.६ प्रतिशत हिस्सा रहेको जलविद्युत् समूहमा भने २१ दशमलव १५ अंकको गिरावट देखिएको छ । अन्य सूचकहरु बढेका छन् ।
सोमबार जलविद्युत् समूह बाहेक अन्य ११ वटा समूह सूचकहरु वृद्धि भएसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक ५६.७२ अंकले बढेर २०६७.१६ अंकमा चढेको छ । यो उचाई अघिल्लो साताको बुधबारको २०७१.०३ अंकभन्दा केही मात्रै कम हो । सूचकका हिसावमा हेर्दा अझै यो साता बजार माथि चढ्ने र लगानीकर्ताहरुले बीचैमा नाफा बुक गर्ने परिस्थिति निर्माण हुँदा साताको अन्यतिर बजारमा फेरि सुधार (करेक्सन) आउने सम्भावना देखिन्छ ।
यद्यपि, लगानीकर्ताहरुका लागि लगानीको अवसर भने पर्याप्त छ । राम्रै लाभांश घोषणा गरेका कतिपय कम्पनीहरुको सेयर मूल्य अझै तल्लो बिन्दूमा छ । सोमबार कारोबार रकम पनि सुधार भएर ७ अर्ब २० करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
सोमबार दिनभर बजार बढाउने र घटाउन खोज्ने लगानीकर्ताबीच द्वन्द्व चलिरहे पनि अन्तिम समयमा बजार बढाउने लगानीकर्ताले बाजी मारेका छन् । मंगलबारको सुरुआती कारोबार भने केही खच्किने तर दिनभरि नै बजार चलायमान हुने सम्भावना देखिन्छ । अबको बजारले सामान्यतयः करेक्सन आउँदा पुरानो उच्च अंक २०७१ भन्दा माथि चढेर तल झर्ने सम्भावना छ ।