काठमाडौं । देशलाई भैरहवा नाकाको महत्व कति रहेछ भन्ने कुरा भारतले लगाएको नाकाबन्दीका बेला पुष्टि भएको थियो । देशका सम्पूर्ण नाका ठप्प भएर आयात/निर्यात रोकिँदा भैरहवा लाइफलाइनमा परिणत भएको थियो ।
आपूर्ति व्यवस्थालाई सहज बनाउन र आर्थिक गतिविधिलाई सक्रिय बनाइराख्न भैरहवाले नाकाबन्दी बेला महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । भैरहवामा रहेका उद्योगी/व्यवसायी, राजनीतिक दललगायत सम्पूर्णको अथक प्रयासपछि नाका खुलाएर आपूर्ति व्यवस्थालाई सहज बनाइएको थियो ।
देश संकटमा परेका बेला भैरहवाले भरथेग गरे पनि सरकारले भैरहवामा अहिलेसम्म एकीकृत चाँज चौकी (आईसीपी) निर्माणमा गम्भीर भएको छैन् । नाकाबन्दी पछि भैरहवाले देखाएको तरारुकता र आपूर्ति व्यवस्थामा आएको सहजताले नै वीरगञ्ज तथा विराटनगरका उद्योगी त्यो क्षेत्रमा व्यावसायिक योजना लिएर पुगे ।
यो पनि हेर्नुहोस
भैरहवामा किन अघि बढेन आईसीपी निर्माण ? नेपाल–भारत वाणिज्य वार्तापछि अघि बढ्ला प्रक्रिया ?
देशमा नयाँ संविधान जारी भएपछि त्यसमाथि असन्तुष्टि जनाउँदै आर्थिक नाकाबन्दी गरेपछि वीरगञ्ज र विराटनगरका उद्योग झण्डै ६ महिना बन्द भए । आर्थिक गतिविधि बन्द भयो । त्यसपछि वीरगञ्ज र विराटनगरका उद्योगीहरु आफ्ना उद्योगलाई भैरहवा सिफ्ट गर्न थाले पनि सरकारले आवश्यक पूर्वाधार निर्माण कुनै चासो दिएन ।
भैरहवा नाका भारतसँगको व्यापारका हिसावले पनि महत्वपूर्ण छ । भारतसँगको व्यापारमा भैरहवा नाका पहिलो हो । राजस्व उठ्तीका हिसावले वीरगञ्जपछि दोस्रो स्थानमा पर्छ ।
यति ठूलो नाकामा अहिलेसम्म सरकारले आईसीपी बनाउन सकेको छैन । भैरहवा नाकाबाट दैनिक ६ सय भन्दा बढी ट्रक आवातजावात भइरहेका छन् । एउटा ट्रकले ४० देखि ६० टनसम्म मालसामान बोकेर आउँछन् ।आर्थिक गतिविधिका हिसावले अत्यन्तै कम महत्वपूर्ण नाकामा सरकारले आईसीपी बनिसकेको छ ।
भारतबाट आउने कार्गोको कन्साइन्मेन्टको प्रमुख नाका भैरहवा हो । वीरगञ्ज तेस्रो मुलुकसहित भारतबाट आउने सामानका हिसावले पहिलो हो भने भारतबाट मात्रै सामान आउने नाका भैरहवा पहिलो हो ।
नेपाल पक्षले आईसीपी बनाउन जग्गा अधिग्रहण सुरु गरिसकेको छ । तर, भारतीय पक्षले आईसीपी निर्माणका लागि जग्गा प्रक्रिया नसकेकाले अघि बढेको छैन ।
‘भारतको हिस्सा मात्रै होइन्, तेस्रो मुलुकबाट आउने सामानको भोल्यूम पनि ठूलै छ’ भैरहवा भन्सार प्रमुख मणिराम पौडेलले भने, ‘भैरहवा बुटवल क्षेत्रमा सिमेन्ट तथा स्टिल उद्योगको संख्या धेरै छ । उनीहरुले कोइला तथा ब्लेड तेस्रो मुलुकबाट ल्याउँछन् ।’
भारतका औद्योगिक करिडोरहरु दिल्ली आसपास छन् । त्यहाँबाट ढुवानी गरेर भैरहवासम्म सामान ल्याउन नजिक पर्छ । यतिसम्म की, काठमाडौंसम्म सामान लैजान पनि सस्तो र सहज हुने उनको भनाइ छ । ‘दिल्लीबाट नजिकको रुट भैरहवा हो । भारतसँगको व्यापारमा भैरहवा एक नम्बर नाका हो’ उनले भने ।
भैरहवामा अहिलेको सबैभन्दा ठूलो समस्या भनेको ट्रकहरुको डिटेन्सन, पार्किङ यार्ड नभएर बीचमै रोकिएका ट्रक, झण्डै गोरखपुरभन्दा माथिसम्म ट्रकहरुको लाइन छ । त्यसलाई व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ ।
त्यसैले गर्दा उत्पादन लागत बढिरहेको छ । कच्चा पदार्थदेखि तयारी वस्तुको लागत बढिरहेको छ । त्यो भनेको देशलाई नै घाटा हो । नेपालको पैसा आवश्यकता भन्दा बढी नै गइरहेको छ । यदि पूर्वाधार राम्रोसँग बन्ने र ति पूर्वाधारलाई सहज रुपमा चलाउन सक्ने हो भने लागत धेरै घट्छ ।