काठमाडौं । सत्तारुढ दलको किचलो उत्कर्षमा पुगेसँगै नेपालको सेयर बजारले पनि रातो झण्डा देखाएको छ । कारोबारको सुरुआती समयमा वृद्धिको गति समाएको बजारले सत्तारुढ दल नेकपाको किचलोका घटनाक्रमहरु एक पछि अर्को गर्दै सार्वजनिक हुन थालेपछि सेयर बजारले ओरालो यात्रा तय गरेको छ ।
मंगलबार बिहान सवैधानिक परिषदको बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटा अनुपस्थित रहेसँगै सवैधानिक परिषद् सम्बन्धी व्यवस्थालाई सहजीकरण गर्दै राष्ट्रपति मार्फत अध्यादेश जारी गराए । यहीबीचमा प्रधानमन्त्री ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङलाई राजीनामा मागेको खबर बाहिरियो ।
लामो समयदेखि सत्ता द्वन्द्वमा रहेको नेकपामा यी दुई घटनाले विवाद उत्कर्षमा पुगेको ठान्दै लगानीकर्ताहरु हतोत्साहित भएका छन् । त्यसैको असर मंगलबारको सेयर कारोबारमा परेको छ ।
मंगलबार कारोबार खुलेको १५ मिनेटमै २१००.९६ अंक छोएको बजारले विस्तारै घट्दो क्रम समाएर २०५१.४६ अंकसम्म झरेका थियो । त्यसपछि केही सम्हालिने प्रयास गरे पनि सोमबारको तुलनामा ५.४५ अंकले घट्दै २०६१.४१ अंकमा रोकिएको छ । ६ अर्ब ६ कराेड रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ । सेयर बजारमा सबैभन्दा बढी प्रभाव पार्ने तत्व राजनीति हो ।
राजनीतिक उथलपुथलमा सेयर बजार पनि तरङ्गित हुन्छ । त्यसको संकेत तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा र बर्तामान अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा सेयर बजारले समाएको गतिलाई हेरे मात्रै पुग्छ ।
नेकपामा देखिएको विवाद उत्कर्षको असर सरकार परिवर्तनसम्म वा अरु कुनै घटना घट्ने हो कि भन्ने आशंकामा लगानीकर्ता छन् ।
यो पनि पढ्नुस्
सेयर बजार बुलतर्फ, बिमा कम्पनी हाइहाई, वाणिज्य बैंक वाइवाई