काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले आफू इमान्दार तर उद्योगी व्यवसायी चोर हुन् भन्ने मानसिकताबाट ऐन लेख्ने काम बन्द नहुँदासम्म देशभित्र लगानीको वातावरण नबन्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रम अर्थनीति बहसलाई सम्बोधन गर्दै चौधरीले ऐन लेख्नेले उद्योगी/व्यवसायीप्रतिको धारणा परिवर्तन नगरेसम्म देशभित्र लगानीको वातावरण नबन्ने बताएका हुन् ।
‘अहिलेको समस्याको जड भनेकै यही हो,’ चौधरीले भने, ‘उद्योगी व्यवसायीहरु देशको स्रोतहरुलाई गलत तरिकाले प्रयोग गर्नलाई उभिने व्यक्तिहरु हुन्, त्यसैले यिनीहरुलाई छेक्नुपर्छ । नियन्त्रण गर्नुपर्छ भन्ने मानसिकता कानुन बनाइन्छ । त्यो प्रवृत्तिलाई त्यागे अहिलेको सम्पूर्ण समस्या अन्त्य हुन्छ ।’
जुन उद्योगीले आफ्नो जीवनकाल उद्योगमा बितायो उ केही नजान्ने । तर, ऐन बनाउनेले उद्योगीलाई यसरी सोच्छन् कि उद्योगी केही जान्दैन । यसलाई केही थाहा हुँदैन भन्ने अहिलको मानसिकता अन्त्य गरे देशमा नयाँ नयाँ लगानीकर्ताको जन्म हुने चौधरीले बताए ।
‘देशमा कानुन कसरी बन्छ भन्ने सबैलाई थाहा छ । म आफैं दुई पटक कानुन बनाउने ठाउँमा पुगिसकेँ’ उनले भने, ‘कन्ट्रोल मेन्टालिटी र नेगेटिभ मेन्टालिटीले देशले जहिलेसम्म मुक्ति पाउँदैन्, तबसम्म मुलुकले आर्थिक रुपमा फड्को मार्न सक्दैन ।’
स्वदेशी उद्योगी तथा विदेशी उद्योगी÷व्यवसायीहरु यही समस्याबाट गुज्रिरहेको चौधरीको भनाइ छ । ‘तपाईंहरु हरेक उद्योगी÷व्यवसायीलाई सोध्नुस्, यही जवाफ आउँछ,’ उनले भने ।
विभिन्न समस्याका बाबजुद पनि ११ क्षेत्रमा चौधरी ग्रुपको उपस्थिति छ । बैंक, उर्जा, उत्पादनमुलक, स्कुललगायत क्षेत्रमा चौधरी ग्रुपको दरिलो उपस्थिति छ । ‘त्यसबाहेक टेलिकममा पनि आउन खोजेकै हो । तर, जति प्रयास गर्दा पनि गर्न सकिएन’ चौधरीले भने ।
विश्वमा अन्य धेरै नेपालीले नेपालको झण्डा फैल्याउने अर्बपति जन्मिनुपर्छ भन्ने हाम्रो पनि सपना हो । ऐन नियममा छिद्र देखाएर कसैले त्यो सपनालाई कुन्ठित गर्छ कसैले पनि नमिल्ने चौधरीले बताए ।
‘नेपालीले कमाएको, नेपालको ब्यालेन्ससिटमा कर तिरेको रकमलाई किन सहज रुपमा पारदर्शी तरिकाबाट भित्र्याउन नदिने ?’ चौधरीले प्रश्न गरे ‘एउटा नेपाली लगानीकर्ताले बाहिरबाट लगानी ल्याउँछ वा लैजान्छ भन्ने आधारका पछि लागेर अरु १० नयाँ लगानीकर्ता आउँछन् भने देशलाई के नोक्सान भयो ?’ एउटा लगानीकर्तालाई विभिन्न तरिकाबाट विवादमा तान्ने, अनावश्यक रुपमा फसाउने कार्य तत्काल रोक्नुपर्ने उनको भनाइ छ ।