काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटडेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको दुई जलविद्युत आयोजना आउँदो असारसम्म सम्पन्न हुने भएका छन । १११ मेगावाटको रसुवागढी र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजना मात्र सम्पन्न हुने देखिएको हो । दुई आयोजनाको जडित क्षमता १२५ मेगावाट छ ।
यस्तै ४२ मेगावाटको तल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी ०७८ सम्म सम्पन्न हुने भएका छन । यसअघि माथिल्लो सान्जेन आउँदो पुस र रसुवागढी फागुन ७ गते सम्पन्न हुने लक्ष्य लिएकोमा केही महिना पछि धकेलिएका हुन् ।
यो वर्ष रसुवागढी र माथिल्लो सान्जेन आयोजना मात्र सम्पन्न हुने चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद कोइरालाले बताए । उनले अन्य दुई आयोजना एक वर्ष ढिलाइ हुने जानकारी दिए । कोइरालाकाअनुसार रसुवागढीको ७० प्रतिशत काम सकिएको छ । यस्तै माथिल्लो सान्जेनको पनि यही हारहारीमा काम सकिएको कोइरालाले बताए ।
चिलिमेले २७० मेगावाटको ४ ओटा आयोजनाको निर्माण सुरु गरेको हो । यस्तै ५०० मेगावाट क्षमताका आयोजनाको संभाव्यता अध्ययन भइरहेको छन् ।
रसुवागढी आयोजना रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन आयोजना सान्जेन जलविद्युत कम्पनी लिमिटेडमार्फत निर्माण भइरहेको छ ।
दुबै कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण लगानी गर्न संस्थाका कर्मचारी र संस्थापक लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी २४ प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गरिसकेका छन ।
यसपछि आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्ने कोइरालाले जानकारी दिए । भूकम्पले गर्दा ठुलो क्षति भएपछि स्थानीयबासिन्दासंग लगानी गर्न रकम नभएपछि आईपीओ निष्कासन पछि सारिएको हो ।
सञ्चय कोषले आयोजनाको ब्याजदर घटाएर १०.७५ प्रतिशतमा झारेको छ । ब्याजदर घटेपछि आयोजनाका लागत पनि कम हुने देखिएको छ । रसुवागढीले बिजुली नेपाल विद्युत प्राधिकरणलाई बेचेर वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्छ ।
बिजुली उत्पादनको दोस्रो वर्षदेखि लाभांश वितरण गर्ने तयारी भएको उनले सुनाए । सञ्चय कोष लगानी फिर्ताको समय बढाएर लाभांश वितरण गर्न सहमत भएको छ ।
सञ्चालनमा आएको दुई वर्षपछि आयोजनाले सेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा पुग्ने उनको भनाई छ ।
आयोजना नेपाल र चीन सीमा नजिक रहेको छ । वर्षादको कामले सडक अवरुद्ध हुँदा आयोजनाको काम प्रभावित भइरहेको छ ।