काठमाडौं। ग्लोबल आइएमई बैंक दोस्रोपटक बेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ। बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो। ग्लोबल फाइनान्सले बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यो सम्मानले संस्थालाई थप उत्कृष्ट सेवा दिन प्रोत्साहित गरेको बताए।
ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमईसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वीयुरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकलाई सम्मान गरेको छ।
ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकलाई यो प्रतिष्ठित अवार्डबाट सम्मान गर्दै आएको छ।
ग्लोबल फाइनान्सले २०२५ का लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको यूओबी मलेशिया, बंलादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित गरेको हो।
हाल बैंकले ३५२ शाखा, ३८५ एटिएम, १५५ शाखारहित बैंकिङ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ दिँदै आएको छ।