काठमाडौं । उखु किसानको भुक्तानी नदिने पाँचजना उद्योगीविरुद्ध बिहीबार पक्राउपुर्जीमा परेका उद्योगी जिल्ला छाडेर फरार भएका छन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयले ती उद्योगीलाई पक्राउन गर्न खोजे पनि उनीहरु काठमाडाैं हुँदा पक्राउ गर्न नसकिएकाे जनाएकाे छ ।
पक्राउ पुर्जीमा परेका इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले खोजिरहेको बुझिएको छ । उनी काठमाडौंमा रहेको बुझिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
यता, बिहीबार नै पक्राउ पुर्जी परेका लुम्बिनी सुगर मिलका सञ्चालक सुशीला गोयल र श्रीराम सुगर मिलका सञ्चालकका तर्फबाट हितेश गोल्छा, विशाल अग्रवाल र अनुज अग्रवाललाई पनि प्रहरीले निगरानीमा राखेकाे नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
किसानको जाहेरीका आधारमा सम्वन्धित जिल्ला प्रहरी कार्यालयले विहीबार पक्राउ पुर्जी गरेको थियो । पक्राउ पुर्जीमा परेका अधिकांश चिनी मिल सञ्चालक अहिले काठमाडौंमै रहेको स्रोतले बतायो ।
रौतहटको गरुणामा रहेको श्रीराम सुगर मिलले किसानलाई ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यस्तै, अन्नपूर्ण सुगर सुगर मिल र इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले ऊखु किसानलाई २२ करोड भुक्तानी दिएका छैनन् ।
यता, लुम्बिनी चिनी उद्योगले ८ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी छ । बिहीबार नै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
यसअघि, उखु किसानको भुक्तानी नदिने सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन समेत दिएको थियो । उखु किसानले चिनी सञ्चालकले भुक्तानी नदिएको भन्दै केही दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।