काठमाडौं । यातायात व्यवस्था कार्यालय कैलालीले चालू आर्थिक वर्षको हालसम्म ३४ करोड रूपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट ३४ करोड ३५ लाख ८८ हजार ४ सय १३ रूपैयाँ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले जानकारी दिए।
चालु आवको असोजमा सबैभन्दा बढी १३ करोड ८१ लाख ७ हजार ६ सय ४३ र सबैभन्दा कम मङ्सिरमा ५ करोड ३८ लाख ३ हजार ४ सय ९२ रूपैयाँ सङ्कलन भएको प्रमुख शाहले बताए। त्यस्तै भदौमा १० सय ८ र साउनमा ५ करोड ७० लाख ५६ हजार ४ सय १० रूपैयाँ सङ्कलन भएको छ ।
त्यसैगरी विसं २०७४ देखि स्मार्ट लाइसेन्स वितरणकार्य सुरु गरेको यातायात व्यवस्था कार्यालय कैलालीले हालसम्म ३८ हजार ५० जनालाई स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ ।
स्मार्ट कार्डका लागि कार्यालयमा अहिलेसम्म ५५ हजार ४५६ जनाको आवेदन परेको कार्यालय प्रमुख शाहले बताउनुभयो । छयालीस हजार ९६१ वटा स्मार्ट कार्ड प्रिन्ट भइसकेको र पाँच हजार ४२५ प्रिन्ट हुन बाँकी रहेको उहाँले बताउनुभयो । आठ हजार ९११ स्मार्ट कार्ड कार्यालयमा आई वितरण गर्न बाँकी रहेको बताइएको छ ।
त्यसैगरी कार्यालयमा हालसम्म विभिन्न किसिमका निजी, भाडाका, सरकारी, संस्थागतलगायतका सवारी साधन गरी १ लाख २४ हजार ७ सय बस, ट्रक, टिपर, जेसिबी, कार, डेलिभरी भ्यान, ट्र्याक्टर, पावरटिलर, स्कुटी, मोटरसाइकल, इ–रिक्सा दर्ता भएको बताइएको छ ।