काठमाडौं । बैंकहरु फेरि आफ्नो जोडी खोज्न लागिपरेका छन् । कहिले कुन बैंक कोसँग मर्ज हुने वा गाभिने समाचारले निकै प्राथमिकता पाइरहेका छन् । बैंकहरुले वार्षिक साधारणसभामा मर्जर र प्राप्तिको विशेष प्रस्ताव लैजान थालेका छन् ।
खासगरी हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, नबिल र सिद्धार्थ बैंक मर्ज हुने हल्ला बाहिरिएका छन् । यस्तै सिभिल बैंकले मर्जमा जानका लागि औपचारिक रुपमा हिमालयन बैंकलाई प्रस्ताव गरेको थियो ।
हिमालयनले मर्जमा जानका लागि चल-अचल सम्पत्ति दायित्व मूल्याँकन (डीडीए) सुरु गरेको छ । लामो समयदेखि हिमालयन र नेपाल इन्भेस्टमेन्टबीच मर्जरको कुरा चलेको छ । यस्तै हिमालयनले बैंक अफ काठमाण्डुसँग पनि छलफल गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकले साउनमा मौद्रिक नीति ल्याउँदा मर्ज गर्ने बैंकलाई कुनै खास सुविधा नदिएपछि मौन बसेका बैंकका सञ्चालकहरु अहिले एकाएक मर्ज गर्न जुटेका छन् । अहिले सबै बैंकले आफूलाई मिल्ने जोडीसँग छलफल गरिरहेका छन् ।
कतिपय बैंकले मर्जर कमिटी नै बनाएर बैंकसँग छलफल गरिरहेका छन् । केही समयअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षहरुसंगको भर्चुअल बैठकमा बैंक मर्जर दोस्रो प्राथमिकता भएको बताएका थिए ।
उनले केन्द्रीय बैंकले दबाब नदिए पनि मर्जर आवश्यक भएकाले तयार हुन भनेका थिए । अहिले नबिलले एनसीसी बैंकलाई मर्ज गराउने प्रक्रियालाई अघि बढाइसकेको छ । स्वाप रेसियोका बारेमा छलफल भइरहेको बैंकले जनाएको छ । आफ्नो बैंकको वित्तीय अवस्था बाहिर आएपछि कोसँग कुन तरिकाले मर्जमा जाने भन्ने निक्र्यौल हुने बैंकले बताएको छ ।
खासगरी साना बैंकभन्दा पनि ठूला बैंकहरु मर्जका लागि अघि सरेका छन् । केन्द्रीय बैंकले साना र सुशासन नभएका बैंकलाई सुशासन र ठूला बैंकसँग मर्ज गराउन चाहेको थियो । तर, अहिले ठुल्ठूला बैंकबीच नै एक आपसमा मर्ज गर्ने पक्षमा जुटेका छन् । बैंकहरुबीच मर्जको हल्लाले बैंकको सेयर मूल्यमा पनि हरियाली छाएको छ ।