काठमाडाैं । अन्ततः यो साताको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। कारोबार सुरु हुने बित्तिकै उच्च अंक(२०९१.६०) मा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) सूचक २९.८३ अंकले घटेर बन्द भएको छ ।
सुरुवाती समयमै सूचक ह्वात्तै घटेर २०५२ अंकसम्म झेरर फेरि उक्लिन खोजेको बजारले घट्दो क्रम नै समात्यो । अन्तिम समयतिर २०२५.६६ अंकमा झरेको नेप्से अन्तिम समयमा भने केही सकारात्मक हुँदै २०३८.६३ अंकमा पुगेको थियो ।
बिहीबारको कारोबार ट्रेन्ड हेर्दा आइतबार सुरुदेखि नै बजार बढ्ने सम्भावना छ । केही दिनदेखि निरन्तर बढेको बजार बुधबार २१२७ सम्म चढेर २०६८ विन्दुमा रोकिएको थियो । बिहीबार बिहान ह्वात्तै बढे पनि त्यसपछि भने निरन्तर घट्न खोजेको छ ।
नबिल बैंक, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लगायतको उच्च लाभांशले सोमबार, मंगलबार र बुधबार चलायमान बनाएको बजारमा लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा बजार घटेको हो ।
बिहीबार बजार घटे पनि आइतबार फेरि बढ्ने सम्भावना देखिन्छ । खासगरी कम्पनीहरुको साधारणसभा, बोनस सेयरका कारण बुक क्लोजपछिको सेयर मूल्य समायोजना, लगानीकर्तामा नाफा बुक गर्ने प्रवृत्तिको असर बिहीबारको सेयर सूचकमा परेको हो ।
बिहीबार नेपाल लाइफ इन्स्याेरेन्स र नबिल बैंकको उच्च लाभांशले पनि बजार चलायमान बनाउन सकेन । जसको असर कारोबार रकममा समेत देखिएको छ ।
यसअघि लगातार चारैदिन साढे ६ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको नेप्सेमा बिहीबार भने साढे ५ अर्बभन्दा तलै छ ।
बिहीबार होटल र व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूहहरु राताम्मे भएका छन् । यसदिन कुनै पनि कम्पनीको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढ्न सकेन् भने घट्ने क्रममा रहेको सेयर मूल्यहरुको अवस्था पनि त्यस्तै छ ।
तर, यसदिन उच्च कारोबार हुने १० वटा कम्पनीमध्ये ६ वटा बैंकिङ समूहका छन् भने बाँकी ४ वटा बिमा समूहका छन् ।