काठमाडौं । कोरोना भाइरसको महाव्याधीबाट गुज्रिरहेको नेपालले अमेरिकी बजारमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको छ । कोरोनाकाबीचमा नेपालले अमेरिकातर्फको निर्यात करिब २२ प्रतिशत वृद्धि गरेसँगै आफ्ना सामानलाई अमेरिकी बजारमा पुर्याएको पाइएको हो ।
भन्सार विभागले सार्वजिक गरेको तथ्यांक अनुसार गत वर्षको ४ महिनाको तुलनामा चालू आवको सोही अवधिमा २१.९० प्रतिशतले अमेरिकामा निर्यात बढेको हो ।
गत आर्थिक वर्षको पहिलो ४ महिनामा २०७६/०७७ मा नेपालबाट ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको सामान अमेरिका निर्यात भएको थियो । तर, चालू आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांकबाट देखिएको हो ।
चार महिनाको अवधिमा तयारी खाद्यपदार्थ, संगीतका साधनहरु, ग्लासवेयर, अगरबत्ती, फेल्ट, सारतेल, छुर्पी, चाउचाउ, क्रिसमसका सामग्री, छालाका उत्पादन, चिया, हस्तकलाका सामान, तयारी पोशाक, पश्मिना शल र ऊनी गलैंचाको निर्यातमा वृद्धि देखिएको छ ।
प्रथम चौमासिकमा १ अर्ब ४० करोड रुपैयाँको ऊनी गलैँचा अमेरिका निर्यात भएको छ । यो भनेको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४४ प्रतिशत बढि हो ।
त्यसैगरी, ९२ करोड रुपैयाँ बराबरको फेल्ट निर्यात भएको छ । यो भनेको १०१ दशमलव २५ प्रतिशत हो । ५२ करोड रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भएको छ । गत वर्षको तुलनामा ८.४५ प्रतिशतले बढि हो । ४५ करोड रुपैयाँ बरारबको छर्पी निर्यात भएको छ । छुर्पीको निर्यात ५८.२३ प्रतिशतले बढेको तथ्यांकबाट देखिएको छ ।
त्यसैगरी, २६ करोड रुपैयाँ बराबरको ग्लासवेयर निर्यात भएको छ । यो गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा १०७ दशलमव ८६ प्रतिशतले बढेको छ । ११ करोड रुपैयाँ बराबरको गरगहना निर्यात भएको छ । यो भने गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा ४.८२ प्रतिशतले घटेको छ ।
११ करोड रुपैयाँ बराबरको पश्मिना शल निर्यात भएको छ । यसमा सामान्य मात्रै वृद्धि देखिएको छ । ९ करोड रुपैयाँ बराबरको संगिताका साधानहरु निर्यात भएको पाइएको छ । यो गत वर्षको तुलनामा १२९ दशलमव ८६ प्रतिशतले बढेको छ ।
९ करोड रुपैयाँ बराबरको सारतेल निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.३७ प्रतिशतले बढेको छ । ७ करोड रुपैयाँ बराबरका हस्तकलाका सामान निर्यात भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९६ प्रतिशतले वृद्धि भएको छ ।
क्रिसमसका सामागी पनि नेपालबाट ६ करोड रुपैयाँको निर्यात भएको छ । यो २८ प्रतिशतले बढेको छ । ६ करोड रुपैयाँ बराबरको बोरा तथा झोला निर्यात भएको छ । यो भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले घटेको तथ्यांकबाट देखिएको छ ।
५ करोड रुपैयाँ बराबरको तयारी खाद्य पदार्थ निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५४ दशलमव ६१ प्रतिशतले बढेको देखिएको छ । ४ करोड रुपैयाँ बराबरको चाउचाउ अमेरिका निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४०.६१ प्रतिशतले बढेको छ ।
४ करोड रुपैयाँ बराबरको चुरा तथा टिका निर्यात भएको छ । यो २४ प्रतिशतले घटेको पाइएको हो । ३ करोड रुपैयाँ बराबरको हाते कागज निर्यात भएको छ । यो पनि ५९ प्रतिशतले निर्यात घटेको देखिएको छ ।
३ करोड रुपैयाँ बराबरका छालाका उत्पादन निर्यात भएको छ । यो ११.९३ प्रतिशतले बढेको देखिएको हो । २ करोड ३८ लाख रुपैयाँ बराबरको मास्क अमेरिका निर्यात भएको छ । १ करोड रुपैयाँ बराबरको चिया अमेरिका निर्यात भएको छ । यो ११ प्रतिशतले गत वर्षको तुलनामा बढेको हो ।
कठिन परिस्थितिमा पनि नेपाली उद्यमी र निर्यातकर्ताहरु अमेरिकी बजारमा निर्यात वृद्धि गर्नुले निजीक्षेत्रमा संकटमा अवसरहरु खोज्ने क्षमता रहेको पुष्टि गर्ने सम्बद्ध क्षेत्रका विज्ञहरु बताउँछन् । नेपालले अमेरिकी बजारका विद्यमान अवसरहरुलाई उपयोग गर्न विशेषतः पाँचओटा पक्षमा ध्यान दिनुपर्ने अर्थविद् डा. शंकर शर्माको भनाई छ ।
पहिलो, नेपाली वस्तुहरूको प्रतिस्पर्धी क्षमता वृद्धि गर्नु हो । यसमा कम्तीमा भूपरिवेष्ठित मुलुक भएका नाताले नेपाली वस्तुहरुमा लाग्ने अतिरिक्त ढुवानी खर्चलाई अनुदानमार्फत नेपाल सरकारबाट सम्बोधन हुन आवश्यक छ ।
दोस्रो, अमेरिकी सरकारबाट जारी गरिएका गुणस्तरका प्रावधानहरु सम्बोधन हुनेगरी नेपाली उत्पादनको प्रमाणीकरण गर्न आवश्यक साधन स्रोतको व्यवस्था हुन अति जरुरी छ । अमेरिकी सरकारले मान्यता प्रदान गर्नेगरी नेपाली प्रयोगशालाको स्तरोन्नत्ति र जनशक्ति विकास गर्न आवश्यक पहल गरिनुपर्छ । पारिस्पारिक मान्यतासम्बन्धी सम्झौताहरू यसका अपरिहार्य तत्वहरु रहेको उनको भनाइ छ ।
तेस्रो, विशाल अमेरिकी बजारको शृंखलालाई पर्याप्त हुने गरी नेपाली उद्योगको उत्पादन क्षमता अभिवृद्धि गर्न आवश्यक छ । यसका लागि प्रविधि निमन्त्रण र पूँजी विस्तारलाई प्राथमिकता दिनुपर्छ । यो प्रविधि र पूँजी विस्तारमा अमेरिकी लगानीको अंश सुनिश्चित गर्न सक्दा अमेरिकी बजारमा नेपाली उत्पादनको बजार थप सुनिश्चित हुने उनको भनाइ छ ।
चौथो, अल्पविकसित देशका नाताले अमेरिकी बजारमा नेपाली वस्तुहरूको प्रवेशका लागि थप सहज पहुँच विस्तार गर्न विशेष कूटनीतिक पहलहरू हुन आवश्यक देखिन्छ । यस्ता सुविधा उपयोग गरिने सवालमा त्यसको विशुद्धता कायम गर्ने पक्षमा पनि विशेष सजगता अपनाउन पनि जरुरी रहेको उनको भनाइ छ ।
पाँचौं, नेपाल र अमेरिकाबीच व्यापार अभिवृद्धि गर्न द्विपक्षीय स्थायी संयन्त्रलाई थप गतिशील बनाउन आवश्यक छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय र नेपालका सम्बद्ध अधिकारीहरुबीच अझ गहन छलफल, विचार आदानप्रदान र व्यापार अभिवृद्धि गर्न अझ सक्रिय संलग्नताको महसूस गरिएको छ ।
नेपालको अमेरिकासँगको आयात पनि अपेक्षाकृत रूपमा सानो आकारको रहेको सन्दर्भमा आयातलाई पनि थप विस्तार गर्ने र सो विस्तारलाई निर्यात प्रवद्र्धनसँग जोड्ने रणनीति अंगीकार गर्नु आवश्यक देखिन्छ ।
नेपालले यस्ता पक्षमा यथोचित ध्यान दिन नसक्दा अमेरिकातर्फको निर्यात अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । विगत १५ वर्षको नेपालको अमेरिकातर्फको निर्यातमा औसत वार्षिक वृद्धिदर केवल ४ प्रतिशतमा सीमित हुन पुगेको छ ।
जबकि कम्बोडियाका लागि अमेरिकी व्यापार प्रतिनिधिका अनुसार सन् २००९ यता अमेरिकातर्फ कम्बोडियाको निर्यातमा १७८ प्रतिशतले वृद्धि भई सन् २०१९ मा ५.४ अब डलर पुगेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव पुरुषोत्तम ओझा बताउँछन् ।