काठमाडौं । जतिसुकै अनलाइन कारोबार भनिए पनि सेयर बजार धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को कब्जामा रहेको पाइएको छ । शुक्रबार नियामक नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएसँगै बेखुस देखिएका ब्रोकरहरुले आइतबार सेयर बजार घटाउने भूमिका खेलेका छन् ।
लगानीकर्ताहरुले ब्रोकरका कारण आइतबार बजार घट्ने भनेर विभिन्न अनुमानहरु सामाजिक सञ्जालहरुमा व्यक्त गरेका थिए । नभन्दै लगानीकर्ताको त्यो आरोपलाई पुष्टि गर्दै आइतबार सुरुदेखि नै बजार घट्न थाल्यो ।
लगानीकर्ताहरुले आइतबारको बजार बढ्ने र बजार ब्रोकरहरुको हातमा रहेको भन्दै सामाजिक सञ्जालहरुमा नयाँ कमिसनको प्रभावका बारेमा विश्लेषण गरिरहेका थिए ।
लगानीकर्ता ब्रोकर कमिसन घटेसँगै लगानीकर्तालाई कम भार पर्ने अपेक्षाका साथ बजार चलायमान हुने अनुमान गरिए पनि परिणाम भने उल्टो निस्कियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मात्रै घटेन गत साताको नियमित कारोबार रकमभन्दा एक तिहाइ हिस्सा खुम्चिएको छ ।
गत साता औसत दैनिक ६ अर्ब रुपैयाँको कारोबार देखिएकोमा आइतबार खुम्चिएर साढे ४ अर्ब रुपैयाँमै समेटिएको छ । उता सूचक पनि ३९.९८ अंकले घटेर १९९८.६५ अंकमा सीमित भएको छ । कारोबारको अन्तिम समयतिर १९९५.०४ अंकमा झरेको बजार कारोबार बन्द हुँदा केही सम्हालिएको छ ।
कमिसन घटाएको विरोधमा ब्रोकरहरु आइतबार बिहानै धितोपत्र बोर्डमा पुगेका थिए । उनीहरुले ब्रोकर कमिसन पुनरावलोकन गर्न र नियामकीय कमिसनसमेत घटाउन माग गरेका छन् । बोर्डले भने यसबारेमा प्रतिक्रिया दिएको छैन ।
यद्यपी अवस्था यस्तै रहे सोमबार बजारमा सकारात्मक प्रभाव पर्ने संभावना छ । ८५ प्रतिशत कारोबार अनलाइनबाट हुने गरेको भनेर बोर्डले नै स्वीकारेको अवस्थामा बजार ब्रोकरको कब्जामा देखिनु चिन्ताको विषय हो ।
बजार घटे पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको प्रतिकित्ता २२२५ मा ६७ करोड १० लाख रुपैयाँमा सेयर किनबेच भएको छ ।
यस्तै नबिल बैंकको १३८४ मा ४० करोड २० लाख र एनआईसी एसिया बैंकको ८०९ मा २६ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यस्तै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको १३१५ मा २५ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नारायणी नेसनल डेभलपमेन्ट बैंकको पोजेटिभ सर्किट लागेको छ । बैंकको सेयर मूल्य ४१४ रुपैयाँ पुगेको छ ।