काठमाडौं । उखु किसानलाई भुक्तानी दिने समय हुँदाहुँदै पनि सरकारले धरपकड गरिरहेको उद्योगीहरूले बताएका छन् । किसान, सरकार र चिनी उद्योगीबीच सोमबार २१ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने सम्झौता भएको छ । यसबीचमा किसानको खातामा पैसा पठाइरहँदा पनि प्रहरीले धरपकड गरिरहेको उद्योगीको गुनासो छ ।
‘किसानको रकम भुक्तानी गरिरहेका उद्योगीको घर–घरमा सोधपुछका लागि लिन आउने, अनावश्यक दुःख दिने र परिवारलाई पनि तनाव दिने काम प्रहरीबाट भइरहेको छ,’ एक चिनी उद्योगी क्यापिटल नेपालसँग गुनासो गरे, ‘सरकारको रोहबरमा भुक्तानी गर्ने सम्झौता गरेका छौं । त्यसै अनुरूप सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रमुखसँग भुक्तानीको विवरण पनि उपलब्ध गराइरहँदा पनि प्रहरीले धरपकड गर्ने कार्य रोकेको छैन ।’
सरकारले नै २१ दिनभित्र तिरिसक्नुपर्ने सम्झौता गरेको छ । ‘त्यो दिनभित्र यदि कुनै चिनी उद्योगीले तिर्दैन भने त्यो उद्योगीलाई पक्राउ गर्ने, जेल हाल्ने वा अन्य जे कारबाही गरे पनि हुन्छ,’ ती उद्योगीले भने, ‘तर, अहिले भुक्तानीका लागि सूचना निकालिरहेको छ । भुक्तानी पनि भइरहेको छ । फेरि प्रहरीबाट अस्वाभाविक गतिविधि भइरहेको छ ।’
सरकारले चिनी उद्योगीको एउटा बाहेक सबै बैंक खाता रोक्का राखेको छ । यदि सबै खाता खुला भएको भए किसानको भुक्तानी झन छिटो हुन सक्थ्यो । एउटा खाताबाट मात्रै भुक्तानी गर्दा लामो समय लाग्ने उद्योगीहरू बताउँछन् ।
अहिले पनि कतिपय उद्योगीसँग १५ देखि १७ वटा बैंक खाता छन् । ती सबै खातालाई खुला गर्ने हो भने किसानले १७ वटै खाताबाट भुक्तानी पाउन सक्ने उद्योगीको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाका अनुसार श्रीराम बाहेक अन्य उद्योगले किसानलाई भुक्तानी प्रक्रिया अघि बढाएका छैनन् । श्रीरामले ३९ करोड रुपैयाँ खातामा राखिसकेको छ । २७ करोड रुपैयाँ किसानलाई बाँडिसकेको रिपोर्ट सरकारलाई उपलब्ध गराएको छ । त्यही भएर श्रीरामका सञ्चालकमाथि धरपकड नगर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार भइसकेको उनले बताए ।
बाँकी उद्योगीले १–२ लाख रुपैयाँ दिएर उम्किन खोजेका छन् । त्यो मान्य हुँदैन । उनीहरूले किसानलाई तिर्नुपर्ने सम्पूर्ण रकम खातामा राख्नुपर्छ । किसानलाई बाँडेको प्रमाण उपलब्ध गराउनुपर्छ । अनिमात्रै सोच्न सकिन्छ । नत्र भने उनीहरूको बाहनाबाजी नचल्ने प्रवक्ता बूढाको भनाइ छ ।
श्रीराम सुगर मिल र लुम्बिनी चिनी उद्योगले धमाधम भुक्तानी गरिरहेका छन् । श्रीराम सुगर मिलले २५ करोड रुपैयाँ निकासा गरेर भुक्तानी गरिरहेको छ । कुल ३६ करोड रुपैयाँ तिर्नुपर्ने भए पनि २५ कराेड रुपैयाँभन्दा बढी रकम लिन उखु किसान नआएको व्यवस्थापनले जनाएको छ ।
‘सूचना टाँसेका थियौं, त्यसलाई हेरेर जति जना किसानहरू आउनुभयो, उहाँहरूको भुक्तानी भइसक्यो,’ श्रीराम सुगर मिलका व्यवस्थापकले भने, ‘अरू कोही बाँकी हुनुहुन्छ भने पनि आउँदा हुन्छ । तत्काल भुक्तानी भइहाल्छ ।’
त्यसैगरी लुम्बिनी चिनी उद्योगले पनि धमाधाम भुक्तानी गरिरहेको छ । उखु किसानका लागि २ करोड रुपैयाँ रकम जोहो गरेर भुक्तानी गरिरहेको छ । लुम्बिनी चिनी उद्योगले ८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सरकारी तथ्यांकले देखाएको छ । व्यवस्थापनका अनुसार सरकारले तोकेको समयसीमा भित्र सम्पूर्ण किसानको भुक्तानी गरिसक्छौं ।
तर, अहिलेसम्म अन्नपूर्ण चिनी र इन्दिरा सुगर मिलले किसानको भुक्तानी प्रक्रिया अघि बढाएको छैन । दुई चिनी मिलका सञ्चालक आरके अग्रवाल हुन् । उनले अहिले किसानको बक्यौता नतिर्नका लागि अनेक बहाना बनाइरहेको सरकारी अधिकारीहरू बताउँछन् ।