काठमाडौं । सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८०.८ प्रतिशत पर्यटक आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए ।
कोभिडका कारण करिब छ महिना नियमित अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् । बन्दाबन्दीपछि गत भदौ १६ देखि अन्तर्राष्ट्रिय र असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो ।
बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट सबैभन्दा बढी भारतबाट २५ हजार ३२० पर्यटक नेपाल आएका छन् । चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्माबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
महामारीका कारण पर्यटक आगमन घटेको बोर्डका निर्देशक मणि लामिछानेले बताए । नेपाल घुम्न बढी पर्यटक मुख्य मुलुकबाट प्रतिशतका आधारमा भारतबाट सबैभन्दा बढी १७.५ प्रतिशत पर्यटक आगमन छ । म्यान्माबाट ९.१, थाइल्याण्डबाट ९, चीनबाट ८.४, अमेरिकाबाट ७.७ र श्रीलङ्काबाट ५.८ प्रतिशत पर्यटक आगमन छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । कोरोना महामारीले भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने बाध्यता पर्यो ।
नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् । गत वर्ष १० को यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।