काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा सामान्य करेक्सन भएको छ । मंगलबार बजार ३.५४ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१६५.४९ अंकमा झरेको छ ।
सेयर बजार खुल्दा घटेर २१४९ अंकमा झरेको बजारमा केही सुधार आई २१७३ अंकमा पुगेको थियो । त्यसपछि पुनः झरेर २१६२ अंकमा आएको थियो । बजार बन्द हुँदा परिसूचक २१८२ अंकमा पुगेर घटेको थियाे ।
विकास बैंक, जलविद्युत र निर्जीवन बिमा सूचक बढेका छन् भने बैंक तथा वित्तीय संस्था, उत्पादन, होटल, लघुवित्तलगायत सबै परिसूचकमा गिरावट आएको छ । हिमालय दोलखा हाइड्रोपावर लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मंगलबार बजारका साथै कारोबार रकममा पनि गिरावट आएको छ ।
मंगलबार ४ अर्ब ५६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । लाभांश घोषणा गरेपछि मंगलबार शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।
शिखरको १८९५ मा ६९ करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । शिखरले मंगलबार २९ प्रतिशत बढी लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २३८८ मा २५ करोड ९० लाख र नेपाल रि–इन्स्योरेन्स कम्पनीको २५ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको हो । जनसेवी लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।