काठमाडौं । समस्याग्रस्तबाट माथि उठ्दै गरेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सीमित लगानीकर्ताहरूले बढाउने र घटाउने गरेर बजारमा चलखेल गरिरहेका छन् ।
अहिले बैंकको सेयर मूल्य लगातार बढेको छ । दिनहुँजसो बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्दै आएको छ । मंगलबार बैंकको सेयर मूल्य ९.८७ प्रतिशत बढेर ५२३ रुपैयाँ पुगेको छ । मंगलबार मात्र बैंकको सेयर मूल्य ४७ रुपैयाँ बढेको छ । जबकि बैंकको सेयर मूल्य बढ्नु पर्ने कुनै कारण छैन ।
पुस १ गते बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ६३९ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि निरन्तर घटेर पुनः उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार फुकुवा गर्दा नै बैंकको सेयर प्रतिकित्ता २९५ रुपैयाँमा कारोबार भएको थियो ।
यो पनि हेर्नुहोस
नारायणी डेभलपमेन्ट बैंकको सेयरमा सर्किट, किन बढिरहेको छ मूल्य ?
विकास बैंकहरूमा राम्रो मुक्तिनाथको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकबाट भरखरै संकटग्रस्त सूचीबाट फुकुवा भएको नारायणीको सेयर मूल्य ५ सय रुपैयाँ बढी छ । नारायणी डेभलपमेन्टसँग मुक्तिनाथलगायत अन्य बैंकहरूसँग तुलना हुन सक्दैन । तर, पनि सेयर मूल्य नारायणीको बढी छ यस्तो किन ?
नारायणीको सेयर संख्या कम भएका कारण केही लगानीकर्ताहरूले बजारमा चलखेल गरेर भाउ बढाउने र घटाउन गरेका छन् । नारायणीका सीमित लगानीकर्ताहरूले सेयर मूल्य बढाउन फुकाउने र फाल्ने नीति (पम्प एन्ड डम्प) गरेका कारण माथि पुगेको तर्क लगानीकर्ताको छ । सेयर संख्या कम हुनुका साथै पुँजी पनि थोरै भएकाले लगानीकर्ताले आफू अनुकूल बैंकको सेयर मूल्यमा खेलिरहेका छन् ।
यस्तै बजार बढाउनुको अर्को कारणको रूपमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन पनि हो । नेपाल धितोपत्र बोर्डले पुँजी बढाउन बैंकलाई मंगलबार हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
बैंकको चुक्तापुँजी अहिले ६ करोड ५६ लाख १६ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी बढेर १३ करोड रुपैयाँ माथि पुग्नेछ । राष्ट्र बैंकले साउन ८ गते बैंकलाई समस्याग्रस्त मुक्त गरेको हो । केन्द्रीय बैंकबाट नारायणीले सशर्त बैंकिङ कारोबार गर्न अनुमति पाएको छ ।
नारायणी सबैभन्दा कम पुँजी हुनेमा दोस्रो विकास बैंक हो । खोटाङमा रहेको साल्पा विकास बैंकको पुँजी सबैभन्दा कम रहेको छ । साल्पाको पुँजी २ करोड ८० लाख रुपैयाँ मात्र छ ।
नेपाल राष्ट्र बैंकबाट नारायणीले ३ जिल्लामा कारोबार गर्न स्वीकृति पाएको हो । जसअनुसार बैंकको कार्यक्षेत्र चितवन, मकवानपुर र नवलपरासी जिल्ला मात्र हो । राष्ट्र बैंकले २०७४ सम्म ३ जिल्लामा बैंकिङ कारोबार गर्ने बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ तोकेको छ ।
सतप्रतिशत हकप्रद सेयर निष्कासन गरे पनि उसको चुक्ता पुँजी झण्डै ३७ करोड रुपैयाँ पुग्दैन । बैंकलाई पुँजी बढाउनु वा मर्जर र एक्विजिसनमा जानुपर्ने दबाब छ । यस्तै चितवन र नवलपरासी बेग्लै प्रदेशमा पर्ने भएकाले जिल्ला छाड्ने वा केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजी पुर्याउनु पर्ने दबाब नारायणीलाई छ ।
पछिल्लो समयमा प्रकाशित वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा ७३.२६ प्रतिशत छ । उसले धेरै ऋण असुली गर्न बाँकी छ । यसले वित्तीय अवस्था अझै पनि संकटमा रहेको देखाउँछ ।
बैंकका तत्कालीन अध्यक्ष उत्तमप्रसाद दा तथा महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले २३ करोड ७२ लाख रुपैयाँ हिनामिना गरेपछि केन्द्रीय बैंकले २०७० चैत २७ गते नारायणी डेभलपमेन्टलाई समस्याग्रस्त घोषणा गर्दै वित्तीय कारोबार रोक्का गरेको थियो ।
बैंकको तत्कालीन अध्यक्षको प्रमुख योजना तथा मिलेमतोमा विभिन्न नाममा नक्कली ऋणी तथा आफन्तलाई कमसल धितो राखी ऋण प्रवाह गरिएको ठहर केन्द्रीय बैंकको थियो ।