काठमाडौं । तीन दिन सेयर बजार सुस्त देखिएको छ । सोमबार र मंगलबार सामान्य गिरावट आएको सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बुधबार भने झिनो सुधार देखिएको छ ।
अघिल्लो साताका दुई दिनदेखि आइतबारसम्म आक्रामक देखिएको बजार तीन दिनको सुस्ततापछि फेरि आक्रामक हुने संकेत गरेको छ । गत आइतबार ८८ अंकले बढेर २१७५ अंकमा पुगेको नेप्से सूचक त्यही (२१७८.५७) अंककै तहमा आइपुगेको छ । बुधबार ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बुधबारको नेप्से कारोबार प्याट्रनले डब्ल्यू आकार सिर्जना गरेको हुनाले बिहीबार बजारमाथि चढ्ने सम्भावना छ ।
यसले विगतको बढेको बजारमा नाफा बुक गर्न खोज्दा बजार सुस्ताएको महसुस गर्न सकिन्छ । यस्तो बेला कतिपय लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहन्छन् । बजार बढ्ने हो कि घट्ने हो भन्ने निक्र्यौल गर्न नसक्दा लगानीकर्ताहरु पर्खेर बस्छन् । यसबीचमा कारोबार रकममा समेत गिरावट आएकाले बिक्री र खरिदबीचको तालमेलसमेत नमिलेका आँकलन गर्न सकिन्छ ।
कतिपयले भने बजारलाई आफ्नो नियन्त्रणमा लिन ब्रोकरहरुले चलखेल गरिरहेको आरोप लगाउँछन् । त्यसको पुष्टि गर्ने आधारका रुपमा प्रभु लाइफ इन्स्योरेन्स र नारायणी डेभलपमेन्ट बैंकको कारोबारलाई लिन गर्छन् । किनभने प्रभुको ३०७ उच्च मूल्य कारोबार गर्ने सम्भावना रहँदा-रहँदै पनि प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार खोलिएको थियो । खरिदकर्ता अधिक चाप रहेको प्रभुमा बिक्री कर्ता भने छैन । त्यस्तै अवस्था नारायणी डेभलपमेन्ट बैंकको सेयरमा पनि देखिन्छ । खराब अवस्थामा रहेको नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमाथि हकप्रद दिने कुरालाई भजाएर बजार उचालिएको छ ।
एकदमै सीमित लगानीकर्तामा रहेको नारायणीको सेयरमा आकर्षण देखाएर बिक्री गर्ने प्रपञ्च ब्रोकरहरुले रचिरहेका छन् । यो कम्पनीको धेरैजसो सेयर ब्रोकरकै हातमा रहेको अनुमान छ ।
बुधबार कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सर्किट लागेको छ । त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको पनि सेयर मूल्य १० प्रतिशत नै बढेको छ ।
बुधबार विकास बैंकको सेयर १.१५ प्रतिशतले बढेको छ भने लघुवित्तको सेयर मूल्य पनि १.६८ प्रतिशतले बढेको छ । हाइड्रोपावर र ट्रेडिङको सूचक भने घटेको छ ।