काठमाडौं । इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङ सेवा उपलब्ध गराएबापत बैंकले मनोमानी रुपमा शुल्क लिन थालेपछि केन्द्रीय बैंकले त्यसमाथि अंकुश लगाएको छ
तीन वटा शुल्कका नाममा बैंकले जथाभावि शुल्क लिइरहेको गुनासो केन्द्रीय बैंकमा पुगेपछि बैंकले निर्देशन जारी गर्दै अबदेखि ग्राहकललाई जानकारी गराएर मात्रै शुल्क काट्नुपर्ने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन जारी गरेको निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क बारे पूर्व जानकारी गराएर मात्रै शुल्क लिन सक्नेछन् ।’
यसको अर्थ अब बैंकले ग्राहकलाई आफूले प्रयोग गरेको सेवा र त्यसको शुल्कको बारेमा सोध्नुपर्छ । यदि उनीहरुले ग्राहकलाई नसोधी ती सेवाको शुल्क काटेमा बैंकमाथि केन्द्रीय बैंकले कारबाही गर्ने छन् ।
अहिले बैंकले ग्राहकको खाताबाट पैसा काटिसकेपछि मात्रै मोबाइलमा म्यासेज पठाउने गरेका छन् । आफ्नो खाताका के कारणले पैसा कट्यो भन्ने पनि ग्राहकलाई जानकारी हुँदैन ।
यदि ग्राहकले बैंकमै फोन गरेर बुझेको अवस्थामा मात्रै तपाईहरुले यस्तो सेवा लिनु भएको रहेछ, त्यसैको शुल्क काटिएको भन्ने बैंकबाट जानकारी प्राप्त हुने गरेको छ ।
तर, सेवाको पूर्व जानकारी र शुल्कको पनि पूर्व जानकारी गराउनुपर्ने छ । यसो हुँदा सम्बन्धित ग्राहकले त्यो सेवा लिने वा नलिने भन्ने निक्र्यौल हुन्छ ।
