काठमाडौं । आन्तरिक उडान सुरु भएको चार महिना भइसक्यो । तर, वायुसेवा कम्पनीहरुले फुलफेजमा उडान भर्न सकिरहेको छैन । कोरोना भाइरस(कोभिड –१९) को त्रास अझै कायम रहेकै कारण कम्पनीहरुले जहाज उडाउन पर्याप्त यात्रु पाउन सकिरहेका छैनन् ।
यस बीचमा एयरलाइन्सहरुले प्रतिस्पर्धा गरेर सस्तोमा टिकट बिक्री गरेकै कारण सञ्चालन खर्चसमेत जुटाउन समस्या भएको गुनासो गरेका छन् । यात्रु नपाएकै कारण एयरलाइन्सहरुले अधिकांश जहाजहरु ग्राउण्डेड गरिरहेका छन् । यता, बुद्ध एयरले फुलफेजमा उडान सुरु गरेको छ ।
आन्तरिक उडानमा बुद्ध, यती र श्री एयरलाइन्सलाई ठूला विमान कम्पनीहरु हुन् । यीमध्ये बुद्ध एयरले मात्र सबै अर्थात १३ वटै जहाज पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ ।
सुगम क्षेत्रमा उडान गर्दै आएको बुद्धले आफ्ना सबै कर्मचारीहरुलाई यस अघिबाटै काममा फर्काइसकेको छ । बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले सबै जहाजहरु सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘जहाजहरु सबै गन्तव्यमा उडान भइरहेको छ,’ प्रवक्ता जोशीले भने ।
यतीका प्रवक्ता सुदर्शन बर्तौलाले भने पर्याप्त मात्रामा यात्रुहरु नभएकै कारण सबै जहाजहरु सञ्चालनमा ल्याउन समस्या भएको बताए । यात्रुहरु भए पनि सस्तोमा टिकट बिक्री गर्नुपरेकाले सञ्चालन खर्च नै जुटाउन समस्या भएकोले केही जहाजलाई ग्राउण्डेड गरिएको उनले जानकारी दिए । मार्चदेखि भने फुलफेजमा उडान थाल्ने तयारी भइरहेको उनले जानकारी दिए ।
अहिले यतीसँग रहेको ३ वटा एटीआर र दुईवटा जेटस्ट्रीम जहाज ग्राउण्डेड छन् । अहिले यतीको ५ वटा मात्र जहाज सञ्चालनमा रहेको छ । यतीको भगिनी संस्था तारा एयरको पनि ४ वटामा ३ वटा मात्र विमान सञ्चालनमा छन् । जहाज सञ्चालनमा भन्दा ग्राउण्डेड गर्दा सञ्चालन खर्चदेखि बिमाको रकमसमेत उठाउन मुस्किल भएको उनले बताए ।
श्री एयरलाइन्सले पनि हाल दैनिक ३ वटा जहाजमार्फत मात्र उडान भर्दै आएको छ । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले सञ्चालन खर्च घटाउनकै लागि ३ वटा जहाज सञ्चालनमा ल्याएको र ३ वटालाई ग्राउण्डेडनै गरेर राखिएको बताए ।
अहिलेको परिस्थितिमा सबै जहाज सञ्चालन गर्नुभन्दा जहाज नउडाउनुमै फाइदा रहेको उनको भनाइ छ । एयरलाइन्सहरुबीच भाडामा प्रतिस्पर्धा हुँदा खर्चनै धान्न मुस्किल भएकोले सबै जहाज सञ्चालनमा ल्याउन नसकेको उनले बताउँदै आएका छन् ।
यस्तै सौर्य,समिट,सीता र सिम्रिक एयरलाइन्सले पनि पूर्णरुपमा जहाजहरु सञ्चालनमा ल्याउन सकिरहेको छैन । यात्रुहरु कम रहेको र सस्तोमा टिकट बेच्ने प्रतिस्पर्धाको कारण साना एयरलाइन्सहरुलाई झनै समस्या भएको सञ्चालकहरुको भनाइ छ ।