काठमाडौ । सरकार स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थानले ‘हाम्रो जीवन बिमा’ योजना ल्याउने भएको छ । संस्थानले आफ्नो वार्षिकोत्सको अवसर पारेर सो योजना सार्वजनिक गर्ने अन्तिम तयारी गरेको जनाएको हो ।
संस्थानको वार्षिकोत्सव फागुन ११ गते पर्छ । संस्थानका प्रशासक कविप्रसाद पाठकले बजारको आवश्यकता अनुसारका बिमा योजना ल्याउने क्रममा ‘हाम्रो जीवन बिमा’ नामक योजना ल्याउन लागेको बताएका हुन् ।
‘हामीले हाम्रो जीवन बिमा नामक योजना ल्याउन लागेका छौं, सोही योजनाका लागि हामीले समितिबाट स्विकृति समेत पाइसकेका छौं’ उनले भने ‘अहिले प्राविधिक तयारी भइरहेको छ, हाम्रो सफ्टवेरको मर्मतपश्चात उक्त योजना बजारमा आउनेछ, नजिकिँदै गरेको वार्षिक उत्सवकै समयमा हाम्रो बिमा योजना सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छौँ । ’
‘हाम्रो जीवन बिमा’ , सामूहिक जीवन बिमाअन्तर्गत पर्छ । यो बिमा म्यादीअन्तर्गत पर्ने संस्थानले जनाएको छ । यस बिमाको अवधि एक वर्षका लागि हुनेछ । एक पटक बिमा गरेपछि एक वर्षको अवधिसम्म बिमित ढुक्क हुन पाउने छन् । कर्मचारीहरुले सामूहिक रुपमा जीवन बिमा गर्न चाहेमा यस जीवन बिमा सहयोगी हुने बीमा संस्थानको दाबी छ ।
१० जना भन्दा कम संख्याका बिमितले यस बिमा योजनामा सहभागी हुन पाउँदैनन् । तर १० जनादेखि बढीमा जति जनाको पनि बिमा हुने बिमा संस्थानले जनाएको छ ।
बिमा गर्ने बिमितको उमेर अनुसार बिमाशूल्क निर्धारण हुन्छ । बिमा संस्थानले नयाँ ल्याउँदै गरेको बीमा योजनामा एक जना बिमित बराबर ५० हजार बिमांक तोकिएको छ । कम्तीमा पनि १० जना व्यक्ति यस बिमा योजनामा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था छ । सोही कारण न्यूनतम बिमांक नै ५ लाख रुपैयाँ रहने बिमा संस्थानले जनाएको छ ।
पेशा अनुसारको बिमाशुल्क
पेशाको प्रकृति अनुसारको बिमाशुल्क बुझाउनु पर्ने बिमा संस्थानले जनाएको छ । टेबलमा बसेर काम गर्दा जोखिम कम हुने भएकाले बिमाशूल्क कम बुझाउनु पर्छ । तर गाडी चलाउदा होस् सुरक्षा फौजमा काम गर्नेहरुमा जोखिम बढी हुने भएकाले बिमाशुल्क बढी बुझाउनु पर्छ ।
तर बिमाशुल्क जति भए पनि बिमांकमा भने कुनै पनि हेरफेर हुदैन । संस्थानले अधिकतम जतिको पनि बिमा गर्न मिलेपनि न्यूनतम बिमाशूल्क दर तोकिने बताएको छ ।अहिले बिमा गराउन न्यूनतम १० जना हुन पर्ने भए पनि संस्थानले व्यक्तिगत रुपमा नै यही बिमा गराउन मिल्ने योजना ल्याउने जनाएको छ ।
लक्षित वर्ग
बिमा संस्थानले दिएको जानकारी अनुसार नयाँ बिमा योजनाको लक्षित वर्ग भनेको सहकारीमा कार्यरत कर्मचारीहरु हुन । यस बिमा योजनामा अन्य बिमितले समेत सहभागी हुन सक्नेछन् ।
संस्थानले ल्याएको नयाँ बिमा योजनामा बिमितको मृत्यु भएमा मात्रै दाबी भुक्तानी पाइने व्यवस्था छ । एक वर्षे अवधिका लागि गरिने सो बिमा योजनामा बिमा अवधि भर सकुशल रहेमा पुनः बिमा गराउन आवश्यक हुन्छ । यस बिमा योजनामा कुनै पनि प्रकारका बोनस दिइदैन ।
ए बी सी डी गरी ४ वर्गमा बिमितलाई विभाजन गर्ने बिमा संस्थानले जनाएको छ । उक्त वर्ग अनुसार नै बिमितको बिमाशुल्क निर्धारण हुन्छ ।
अहिले बिमा संस्थानले ११ वटा बिमा योजना सञ्चालन गरिरहेको छ । नयाँ बिमा योजना बजारमा ल्याए पश्चात संस्थानको बिमा योजना १२ वटा पुग्नेछ ।