काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्रमा इन्धन आपूर्ति गर्ने जिम्मा पाएको नेपाल आयल निगमले सरकारको छविलाई उच्च राख्नुपर्ने बताएका छन् ।
निगमको ५१औँ साधारणसभामा पछिल्लो समय निगमले विभिन्न प्रविधि भित्र्याउन सफल भएको भन्दै उनले पेट्रोलियम पदार्थको गुणस्तर र शुद्धतामा ध्यान दिन आग्रह गरे ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अबको दुई वर्षभित्रमा पाइपलाइनबाट पेट्रोल ढुवानी हुने बताए। उनले पेट्रोलियम पाइपलाइनमार्फत हाल डिजेलमात्र आयात भइरहेकामा पेट्रोलसमेत ल्याउने तयारी भएको जानकारी दिए।
उनले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन क्षमताको विस्तार गरेर डिजेलको सम्पूर्ण आयात सम्भव भएसम्म पाइपलाइनमार्फत मात्रै गर्ने व्यवस्था गर्न लागिएको बताए। खाना पकाउने एलपी ग्यासको ढुवानीका लागि इन्डियन आयल कर्पोरेशनको वितरण केन्द्रलाई नेपाली सीमा नजिकको ‘लोकेशन’बाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्यको थालनी गरेको उनले जानकारी दिए।
महाप्रबन्धक पौडेलले निगमको वार्षिक नीति तथा कार्यक्रमस्वरुप चालु आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारणगृहको निर्माण र विस्तारको काम शुरु भएको बताए।
यसैगरी झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन विस्तार, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारणगृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति गरेर पूर्वाधार विकासको काम भएको उनले जानकारी दिए ।
निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले पछिल्लो समय निगमले पूर्वाधार निर्माणमा फड्को मारेको बताए । विसं २०२७ मा स्थापना भई पेट्रोलियम पदार्थको ढुवानीको एकलौटी अधिकार पाएको निगम पछिल्लो समय नाफामा गएको छ । निगम नै सबैभन्दा बढी नाफा गर्ने सार्वजनिक संस्थान हो ।
गत आर्थिक वर्ष २०७६/०७७ मा निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । लामो समयदेखि घाटामा रहेको निगम पछिल्लो समय नाफामा गएको हो । निगमले गत आव २०७२/०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा ९ अर्ब ४५ करोड, २०७४/०७५ मा ३ अर्ब ५८ करोड, २०७५/०७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/०७७ मा रु १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको जनाइएको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत १० महिनाको अवधिमा निगमले ढुवानीमार्फत १ अर्ब ४७ करोड बचत गरेको छ ।