काठमाडौं । आर्थिक संकटका कारण दामासाही (लिक्विडेसन) मा गएको श्रीराम सुगर मिल्स लिमिटेडको हकप्रद सेयर निष्कासनको विवरण अझै नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छ ।
व्यवसायिक घरना विशाल ग्रुपको प्रवेशपछि कम्पनीले उद्योगको विस्तार गर्न २०७४ सालमा वैशाख २८ गते साविकका सेयरधनीहरुलाई ३०० प्रतिशत अर्थात ८९ करोड रुपैयाँ बराबरको ८९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

त्यसपछि विभिन्न चरणमा उद्योग र बोर्डबीच पत्राचारहरु भएका छन् । गएको साउन १२ गते व्यवस्थापनले २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान भएको कारण देखाउँदै श्रीरामलाई सधैका लागि बन्दको घोषणा गरेको थियो ।
यो पनि हेर्नुहोस
गोल्छाको श्रीराम सुगर मिल्स सधैंका लागि बन्द, २१७ करोड सञ्चित नोक्सानमा
उद्योगका अनुसार श्रीराम सुगर मिल्स अब दामासाहीमा गइसकेको छ । हकप्रद सेयर निष्कासन गर्न नपाएपछि अन्त्यमा गोल्छा समूहले उद्योग बन्दको निर्णय गरेको हो ।
उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको ३५ करोड रुपैयाँ तिरिसकेको छ । यता बोर्डको हकप्रद सेयर पाइपलाइन स्टाटसमा श्रीरामले हकप्रद सेयर निष्कासन गर्ने विवरण उल्लेख छ । यसबाट श्रीराम सुगरले हकप्रद सेयर निष्कासन गर्दैछ भन्ने हो । बोर्डका प्रवत्ता निरज गिरीले हटाउने बताएको झण्डै एक महिना भइसक्दा पनि पाइपलाइन स्टाटसको सूचीबाट श्रीरामको नाम हटेको छैन् ।
श्रीराम व्यवस्थापनले उद्योग बन्दको जानकारी श्रम तथा रोजगार कार्यालय, उद्योग विभाग, आन्तरिक राजस्व विभागका साथै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडलाई साउनमै जानकारी गराइसकेको बताएको छ ।
यो पनि हेर्नुहोस
श्रीराम सुगर मिल्स बन्दस् के होला सर्वसाधारणको सेयर लगानी ?
आर्थिक रुपमा जर्जर भएपछि कर्मचारीहरुलाई तलवका साथै सञ्चय कोष समेत जम्मा गर्न नसकेको श्रीरामले जनाएको थियो । गत वर्ष १३ दिन मात्र उद्योग सञ्चालनमा आएको थियो । गएको फागुन १३ गतेदेखि स्थायीरुपमा बन्द गरिएको छ ।
उद्योग सञ्चानलमा ल्याउन पुँजी नभएको र अब सञ्चालनमा आउन नसक्ने उद्योगले स्पष्टपारेको छ । उद्योगले चलअचल सम्पत्ति बिक्री गरेर तलव, भत्तालगायत अन्य दायित्व भुक्तान गरिने जानकारी दिएको छ ।
श्रीरामले सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो । श्रीराम नेप्सेमा सूचीकृत छ । कम्पनीले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको छैन । उद्योगको ३० लाख ४५ हजार ९९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ ।


