काठमाडौं । कारोबार रकम बढ्दै गएसँगै सेयर बजारको समयसीमा पनि थप्नुपर्ने आवाज उठ्न थालेको छ । विगतमा कारोबार रकम थोरै भएकाले ४ घण्टा समय पर्याप्त भए पनि अहिले कारोबारले दैनिक नयाँ रेकर्ड राखिरहेका बेला नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर कारोबार समय १ घण्टा थप्नुपर्ने सम्बद्ध क्षेत्रका लगानीकर्ताले माग गर्न थालेका छन् ।
‘दैनिक १/२ अर्ब रुपैयाँ कारोबार हुँदा ४ घण्टा समय ठीक हो,’ नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले भने, ‘तर, अहिले कारोबार रकम ९ अर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ । यस्तो बेलामा बोर्डले एक घण्टा समय थप्नुपर्छ ।’
सेयर बजारमा निरन्तर कारोबार हुनुपर्छ भनिन्छ । अहिलेको कारोबारको प्रकृत्ति हेर्दा निरन्तर भइरहेको हुन्छ । थप एक घण्टा कारोबार समय थप्दा उपयुक्त हुने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पदाधिकारी बताउँछन् ।
‘अब समय थप्नुपर्ने बेला आएको छ’ नेप्सेका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यो बजारको माग हो । कारोबार रकमले पनि समय थपको माग गरेको छ ।’
‘धितोपत्र बोर्डले कारोबार समय बढाउन ढिला गर्नु हुँदैन । अहिले ११ देखि ३ बजेसम्म बजार खुल्छ । त्यसलाई ११ देखि ४ बजेसम्म पुर्याउँदा हुन्छ’ सभापित पौडेलले भने, ‘एक घण्टा समय थप्नु भनेको हप्ता ५ घण्टा अतिरिक्त समय थपिनु हो ।’
उनका अनुसार बीचमा एक पटक समय बढेको थियो । कोरोना महामारीपछि समय घटाएको उनको भनाइ छ । ‘हिजो धेरै सुजबुझका साथ समय विस्तार गरिएको थियो’ उनले भने, ‘भवितव्य पर्यो । विपत्तिका कारण बजार नै बन्द गर्नुपर्ने अवस्था आउँदा समय घटाएर बजार खोल्यौं । अब नियामक निकायले एक घण्टा समय बढाउने गरी गृहकार्य गर्नुपर्छ ।’
नियामक निकाय बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कारोबार समयका बारेमा सोच्ने बेला आएको बताए । टी प्सल टूलगायत प्रावधान के कसरी प्रभावकारी हुन्छन् । त्यसलाई हेरेर कारोबार समय थप्नुपर्ने वा नपर्ने भन्ने निक्र्यौल हुने उनको भनाइ छ ।
बोर्डले ल्याएका नयाँ-नयाँ प्रावधानले कस्तो प्रभाव पारिरहेको छ ? सीडीएस क्लियरिङ एन्ड सेटलमेन्टका सन्दर्भमा कसरी अघि बढिरहेको छ, यी सबै विषयलाई अध्ययन गरेर त्यसपछि कारोबार समय रिभ्यू गर्नुपर्ने गिरीको भनाइ छ ।
‘कारोबार रकम बढ्यो भन्दैमा बोर्डले झट्ट समय थप्न मिल्दैन’ उनले भने, ‘अध्ययन गरेर सुझबुझ तरिकाबाट मात्रै समय थप्नुपर्छ । यस विषयमा हामी लागेका छौं ।’ बजार विस्तार हुँदै गयो । लगानीकर्ताहरु बढ्दै गए भने विस्तारै समय पनि विस्तार हुने उनी बताउँछन् ।
सेयर लगानीकर्ताले बोर्डले समय रिभ्यू गर्न ढिला गर्न नहुने बताएका छन् । ‘अब तत्कालै सेयर कारोबारको समय बढाउनुपर्छ । हिजोका दिनमा त्यति समयभित्र १/२ अर्ब कारोबार गर्छौ भने अहिले झण्डै १० अर्ब रुपैयाँ हाराहारी कारोबार हुन थालेको छ । भनेपछि समय किन नबढाउने ? पौडेलले प्रश्न गरे ।