काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंगपोखरा)मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय ४५ पुगेको छ ।
बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका-४ हुमिन(ग्याङ्गसिंगपोखरा) मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका-४ का वडाअध्यक्ष भोजबहादुर बिकले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि बिष्णुबहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जालसहित २४० एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ४५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।