काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे भएको बाँडफाँटमा १० देखि ५० कित्तासम्म माग गर्ने सबैले मागबमोजिम सेयर पाएका छन् ।
बढी पाउनेले ६० कित्तासम्म सेयर पाएका छन् । बिक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई मागबमोजिम सेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको छ ।
त्यस्तै ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको छ । यसरी बाँडफाँटपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप १० कित्ताका दरले ४ लाख ९२ हजार ७२ जनालाई सेयर बाँडफाँट गरिएको छ ।
यस आईपीओमा १४ लाख ८१ हजार २८४ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्ये ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदक १४ लाख ७५ हजार ८ जनालाई बाँडफाँटमा सहभागी गराइएको थियो ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले ८ अर्ब रूपैयाँबराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
अधिकत पुँजी ४० अर्ब रूपैयाँ र जारी पुँजी २० अर्ब रूपैयाँ रहेको कम्पनीको हाल चुक्तापुँजी १२ अर्ब रूपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पुँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो ।