काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न ५ वटा कम्पनीहरुले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका छन ।
कम्पनीहरुले १२ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ बराबरको १२ करोड ७१ लाख ४१ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
सबैभन्दा बढी हकप्रद सेयर सरकार स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) रहेको छ । उसले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
नयाँ जलविद्युत आयोजनामा थप लगानी जुटाउन एचआईडीसीएलले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सरकारको तर्फबाट साढे ५ अर्ब रुपैयाँ कम्पनीको हकप्रदमा लगानी भइसकेको छ ।
बाँकी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सर्वसाधारणबाट लगानी जुट्न बाँकी छ । हकप्रद निष्कासनपछि एचआईडीसीएलको चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।
यस्तै समस्याग्रस्तबाट मुक्त भएको कर्पोरेट डेभलपमेन्ट बैंकले पनि चुक्तापुँजी बढाएर ५० करोड पुर्याउन १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ ।
बैंकको चुक्तापुँजी २० करोड रुपैयाँ छ । ३० करोडको हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ । एक जिल्लामा सञ्चालन हुने विकास बैंकको न्यूनतम चुक्तापुँजी ५० करोड रुपैयाँ हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
यस्तै नाग्दी ग्रुप पावर लिमिटेडले पनि ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नाग्दीले १६ करोड ६ लाख रुपैयाँ बराबरको १६ लाख ६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ ।
उसले ९९ करोड २३ लाख ८३ हजार रुपैयाँ बराबरको ९९ लाख २३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसैगरी बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पनि १०० प्रतिशत अर्थात २५ करोड ५१ लाख रुपैयाँ बराबरको २५ लाख ५१ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
सूचि हेर्न यहाँ क्लिक गर्नुहोस
४ कम्पनीले पाए अनुमति
साउनयता विभिन्न ४ वटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएका छन । बोर्डबाट अनुमति पाउनेमा समृद्ध फाइनान्स कम्पनी लिमिटेड, नागरिक लगानी कोष, नेपाल फाइनान्स लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।
नेप्सेमा सूचिकृत यि कम्पनीहरुले १ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ९५ लाख ८५ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेका छन ।