काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।
सुभेन्द्र जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन घिमिरे र सचिवमा सञ्जय लामा निर्बिरोध भएका हुन् ।
त्यसैगरी कोषध्यक्षमा सुष्मा लम्साल र सहकोषध्यक्षमा केदारनाथ बस्ताकोटी निर्बिरोध भएका छन् । संघको सदस्यमा योगेन्द्र कार्की, रमिला श्रेष्ठ, दिल विक्रम श्रेष्ठ, भोला योञ्जन, सम्यक मान सिंह, डम्बर पराजुली र प्रवीणकुमार थापा चयन भएका छन् ।
वन पैदावारको उचित सदुपयोग हुन नसक्दा खेर गइरहेको पैदावार बराबरको वस्तु आयात गर्नु परिरहेको संघका पदाधिकारीले बताएका छन् । साधारणसभालाई सम्बोधन गर्दै संघका निवर्तमान अध्यक्ष रुपेश प्रधानले वैज्ञानिकीकरण बजारीकीकरण, आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको गुनासो गरेका हुन् ।
संघले फर्निचर उद्योगले प्रतिस्पर्धा गर्न सक्ने कर नीति ल्याउन पनि सरकारसँग माग गरेको छ । नत्र, हाल सरकारी निकायले पनि आवश्यक फर्निचर सामग्री विदेशबाट आयात गर्ने प्रचलन बढेर जाने संघको ठहर छ ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्याउनका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको बताए । बर्सेनि १० देखि १२ अर्ब रुपैयाँ बराबरको काठ आयात भइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादनको खपत बढाउन र काठ निर्यात गर्ने अवस्थामा पुर्याउन वैज्ञानिक वन कार्यविधि खारेज गरिएको मन्त्री आलेको भनाइ थियो ।
संघका नवनिर्वाचित अध्यक्ष सुभेन्द्र जोशीले कोभिड–१९ का कारण माग कटौती हुँदा व्यवसाय संकटमा परेको बताए । “फर्निचर उद्योगमा श्रमिकको पनि समस्या छ । यस्तै उद्योग खोल्ने ठाउँको पनि अभाव रहेकाले व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमको नीति ल्याउन सरकारसँग संघ आग्रह गर्छ,” जोशीले भने ।
देशका २१ हजार ७५५ वटा सामुदायिक वन र सरकारी वनबाट कसरी काठ निकाल्न सकिन्छ र काठ निर्यात गर्न सकिन्छ भन्ने सम्बन्धमा स्पष्ट नीति निर्माण गर्न लागेको पनि मन्त्री आलेले जानकारी दिए ।
फर्निचर वर्गभित्र पर्ने फ्लोरिङ कार्पेट, गलैंचा, म्याट्रेस, तकिया, डोरम्याट तथ प्लास्टिकजन्य उत्पादनमा नेपाल आत्मर्भिर हुँदै गएको छ । देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।
फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको तथ्यांकले देखाउँछ ।