काठमाडौं । सेयर धितो राखेर लिइएको कर्जा मात्रै होइन्, ओभर ड्राफ्ट (ओडी) पनि सेयर बजारमै गएको पाइएको छ । सेयर बजारमा कोर क्यापिटलको ४० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने प्रावधानपछि ओभर ड्राफ्ट पनि सेयर बजारमै गएको केन्द्रीय बैंकले अनुमान लगाएको छ ।
पछिल्ला महिनाहरूमा ओभर ड्राफ्ट लोनमा गएको रकमले पनि पुष्टि गरेको केन्द्रीय बैंकको बुझाइ छ । ‘सेयर धितो कर्जा त हुने नै भयो, त्यसबाहेक ओभर ड्राफ्टको कर्जा पनि सेयर बजारमै गएको हुन सक्छ,’ राष्ट्र बैंकका अधिकारी भन्छन् ।
केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार बैंकहरूले असार मसान्तमा ४ खर्ब ८८ अर्ब ६० करोड रुपैयाँ ओभर ड्राफ्ट कर्जा प्रवाह गरेका थिए । तर, मंसिर मसान्तसम्ममा त्यो शीर्षकको कर्जा ३३ अर्ब रुपैयाँले बढेर ५ खर्ब २१ अर्ब ७२ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांकबाट देखिएको छ ।
‘पाँच महिनाको अवधिमा अन्य क्षेत्रमा जसरी कर्जा प्रवाह भएको छ, त्यसको तुलनामा ओभर ड्राफ्ट कर्जा अत्यधिक बढी हो,’ केन्द्रीय बैंकका एक अधिकारीले भने ।
ओभर ड्राफ्ट कर्जा घरजग्गा तथा सेयरमा गएको हुनसक्ने केन्द्रीय बैंकको बुझाइ छ । ओभर ड्राफ्टपछि सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह भएको छ ।
असार मसान्तसम्ममा सेयर धितो कर्जा ५० अर्ब रुपैयाँ हाराहारी प्रवाह भएको देखिन्छ । तर, मंसिर मसान्तसम्ममा आइपुग्दा त्यस्तो कर्जा ६७ अर्ब रुपैयाँ पुगेको छ । पाँच महिनाको अवधिमा १७ अर्ब रुपैयाँ सेयर धितो कर्जा बढेको छ ।
व्यक्तिगत होमलोन (१ करोड ५० लाखसम्म) असारमा २ खर्ब ५२ अर्ब ४५ करोड रुपैयाँ प्रवाह भएको थियो । मंसिरसम्ममा २ खर्ब ५९ अर्ब ३१ करोड रुपैयाँ प्रवाह भएको छ । यो पाँच महिनाको बीचमा ७ अर्ब हाराहारी मात्रै होमलोन गएको देखिएको छ ।