काठमाडौं । दुई दिन लगातार घटेको सेयर बजार तेस्रो दिन भने सम्हालिएको छ । गत बिहीबार र आइतबार गरी करिब ७० अंकको गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने ३७.७ अंकले ‘बाउन्स ब्याक’ भएको छ ।
खासगरी निरन्तर बढेको सेयर बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न खोज्नु, नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्नुअघि खरिद गर्ने सेयर रकमको २५ प्रतिशत रकम अग्रिम ब्रोकरको खातामा राख्नुपर्ने, सेयर बिक्रीपछि रकम भुक्तानीमा ‘टी प्लस टू’ को व्यवस्था र कडाइ साथ कार्यान्वयन गर्ने बोर्डको प्रतिबद्धता, चालू आर्थिक वर्षको दोस्रो त्रैमासको खस्किएको वित्तीय विवरणलगायतका आधारमा बजारमा अनेकन हल्ला मच्चाइँदा सेयर सूचक ओरालो लागेको थियो । तर, सेयर लगानीकर्ताको सुझबुझपूर्ण निर्णय र वास्तविकता पहिचानसँगै बजारले फेरि उकालो लागेको हो ।
सोमबार सुरुवाती समयमा सूचक ह्वात्तै बढेर २४१३.१९ अंकसम्म चढेलगत्तै दबाब महसुस गरेको बजार २३८५ अंकसम्म झरेको थियो । त्यसपछि भने बजार खरिद र बिक्रीको समानान्तर चापमा पर्दा खासै घट्ने छनक भने देखाएन ।
अन्ततः बजार बढेर बन्द भयो र सोमबार २४०८.२४ अंकमा पुग्यो । सोमबारको कारोबार प्रवृत्ति र नेप्से सूचकले बनाएको सुरुवाती ‘भी’ आकार र त्यसपछि ‘यू’ आकारले मंगलबार पनि बजार सूचक उकालो लाग्ने संकेत गरेको छ । गत बुधबार नेप्से सूचक हालसम्मकै उच्च २४४१.८५ अंकमा पुगेको थियो ।
यद्यपि आइतबार र बिहीबारको जस्तो कारोबार रकमले भने सोमबार साथ दिएको छैन । सोमबार १ करोड ३३ लाख ११ हजार ९ सय ४२ कित्ता सेयर खरिद बिक्री भएर ६ अर्ब ९७ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आइतबार ८ अर्ब ९७ करोड र गत बिहीबार हालसम्मकै उच्च ९ अर्ब ८९ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । सोमबार सेन्चुरी कमर्सियल बैंक र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य ८ कम्पनीको ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
लघुवित्त र म्युचुअल फन्ड उपसूचक घटेको दिन सोमबार अन्य १० उपसूचक बढ्दा समग्रमा सेयर सूचक उकालो लागेको हो । सोमबार नेप्सेमा ७.१५ प्रतिशत सेयर मूल्य बढेको नेपाल रि–इन्स्योरेन्स कम्पनीको ५८ करोड ३३ लाख ७७ हजार रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ ।