काठमाडौं । अन्य वाणिज्य बैङ्कहरुले नाफा बढाइरहेका बेला सरकारको समेत स्वामित्व रहेको नेपाल बैङ्कको भने घटेको छ । गत आर्थिक वर्षमा बैङ्कको नाफा २३ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षमा बैङ्कले २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालले ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो ।
गत आर्थिक वर्षमा गरेको नाफा र जगेडा कोषमा भएको रकम समेत जोडेर ३ अर्ब ४५ करोड १२ लाख रुपैयाँ सेयरधनीलाई लाभांश बाँड्न सकिने बैङ्कले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैङ्कको नाफा ६० करोड ३७ लाख रुपैयाँ घटेको शुक्रबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
निक्षेप लागत बढ्दा ब्याजखर्च बढेको र ब्याज आम्दानीमा आएको गिरावटले नाफामा असर गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षमा बैङ्कले ६ अर्ब १७ करोड ९१ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । गत वर्ष २० करोड ८६ लाख रुपैयाँ ब्याज आम्दानी घटेको छ । ब्याज खर्च अघिल्लो वर्षको तुलनामा दोब्बर भएको वित्तीय विवरणमा उलेख छ ।
गत आर्थिक वर्षमा बैङ्कको ब्याज खर्च ४ अर्ब १९ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो खर्च २ अर्ब ८४ करोड १६ लाख रुपैयाँ मात्र थियो ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात घटेर २.५८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ३.३७ प्रतिशत थियो । निक्षेप लागत बढेर ५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष २.९९ प्रतिशत थियो ।
सीसीडी ७०, आधारदर ७.८९ र ब्याजदर अन्तर ४.४५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ १५ पैसा र खुदसम्पत्ति बढेर प्रतिसेयर ३०० रुपैयाँ पुगेको छ ।