काठमाडौं । समग्र जीवन बिमा कम्पनीहरु र केही लघुवित्त संस्थाको सेयर मूल्यमा उछाल आएपछि मंंगलबार सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ ।
गत बिहीबार र साताको पहिलो दिन आइतबार ह्वातै खस्केको सूचकले सोमबार र मंगलबार मेकअप गर्दै नयाँ उचाइ प्राप्त गरेको हो । गत बुधबार हालसम्मकै उच्च अंक करिब २४४२ अंकमा पुगेको नेप्सेको उचाइलाई उछिनदै मंगलबार साढे ६५ अंकले बढेर २४६३.७३ अंकमा पुगेको छ ।
खासगरी मंगलबार बिमा कम्पनी (जीवन तथा निर्जीवन) र लघुवित्त संस्थाको सेयर मूल्यमा उछाल आएसँगै उनीहरुका समग्र सूचक पनि उच्च अंकले बढेको छ । त्यसलाई बैंकिङ समूहले थप सहयोग गरेपछि नेप्सेले उचाइ कायम गरेको हो ।
यद्यपि यस दिन होटल समूह सूचक भने ओरालो लागेको छ । मंगलबारको सेयर कारोबार वृद्धिमा सुरुदेखि नै प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेतृत्व लिएको छ ।
प्रभु लाइफलाई पच्छाउँदै अजोड इन्स्योरेन्स लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । बैंकिङ समूहबाट ग्लोबल आईएमई बैंकको सेयर मूल्यमा उछाल आएको छ ।
मंगलबारको परिसूचक प्यार्टनलाई नियाल्दा बजार भर्याङ शैलीमा वृद्धि भइरहेको छ । कारोबारको सुरुमै ह्वातै बढेको बजार लगत्तै घट्न खोजेको थियो । तर, विस्तारै बजारले फेरि थोरै घट्ने र धेरै बढ्ने आधार तय गर्दै भर्याङ शैलीमा नेप्से परिसूचक उकालो लागेको छ ।
सूचक प्यार्टनमा देखिएको सुरुवाती २ घण्टासम्म डब्ल्यू आकार र त्यसपछिको करिब एकनासको वृद्धिले बुधबार पनि बजार अझै उकालो लाग्ने संकेत गरेको छ । बुधबार बजारले सुरुवाती समयमै २५०० अंक छोएर कारोबार हुने लक्ष्यण देखाएको छ ।
मंगलबार ८ अर्ब ५९ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल रिको प्रतिकित्ता १६५३ मा ५७ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै ग्लोबल आईएमई बैंकको ३८० मा ५३ करोड ३३ लाख र नेपाल टेलिकमको १४४८ मा ३८ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
मंगलबार युनाइटेड इन्स्योरेन्स कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार १७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि बढेको छ ।