काठमाडौं । नेकपा (दाहाल–नेपाल) समूहको आमहडताललाई सेयर बजारले लोप्पा खुवाइदिएको छ । कोरोना कहरबाट भरखरै उठ्न खोजेको अर्थतन्त्रमा राजनीतिक प्रतिद्वन्द्वीताको सिकार बनाउन खोजिएका बेला सेयर बजारले भने सबै तिकडमहरुलाई पाखा लगाउँदै अघि बढ्ने संकेत गरेको छ ।
बिहीबार दाहाल नेपाल समूहको आमहडतालले सेयर बजारमा ठूलै असर पार्छ भन्ने आँकलन गरिए पनि लगानीकर्ताले भने आमहडताललाई अस्वीकार गरेका छन् । बुधबार २४६६ अंकमा रोकिएको बिहीबार सूचक प्रि ओपन सेसनमै २४७९.६१ अंकमा पुगेको नेपाल स्टक एक्स्चेञ्च (नेप्से) ह्वात्तै घटेर १३ मिनेटमै २४४३ अंकसम्म झरेको थियो । तर, २० मिनेटभित्रै बजारले भी आकार तय गर्दै २४८१ अंकसम्म चढ्यो । फेरि, घट्ने संकेत गरेको बजार भने सम्हालिँदै गएर अन्तिम समयमा ८.३४ अंकले बढेर २४७५.२६ मा बन्द भएको छ ।
बिहीबारको सूचकमा लघुवित्त र जलविद्युत् कम्पनीहरुको हालिमुहाली छ । त्यसलाई व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधनमूलक र अन्य समूहले पनि साथ दिए पछि बैंकिङ समूह र जीवन बिमा समूहको घटाइलाई छायामा पारिदिए ।
बजारमा बैंकिङ समूहको हिस्सा ४३ प्रतिशत छ भने बिमा र जलविद्युत्को १६/१६ प्रतिशत हिस्सा छ । बिहीबारको कारोबारमा ९ प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्ने १५ कम्पनीमध्ये १० वटा लघुवित्त र ५ वटा जलविद्युत् कम्पनी छन् ।
१ सय ३७ रुपैयाँ प्रतिकित्ताबाट कारोबार खुलेर निरन्तर बढ्दै बुधबार १ हजार १६ रुपैयाँसम्म पुगेको प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ५७ प्रतिशतले घटेको छ । घट्दो क्रमलाई पछ्याउँदै एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर मूल्य ३ प्रतिशत १३ प्रतिशतले घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा कमले घटेको छ ।
चर्किर्दै गएको राजनीतिक द्वन्द्व, लगानीयोग्य वातावरणको अभाव, लगानीका नयाँ क्षेत्र खुम्चिएको, व्याजदर घट्दै गएको, सूचीकृत कम्पनीहरुको थोरै भए पनि प्रतिफल सुनिश्चितता रहेकोजस्ता कारणले सेयर बजारलाई थप चलायमान बनाउँदै लगेको छ ।
त्यसमा नागरिक स्टक डिलरको प्रवेश, नेपाल ट्रष्टले पनि सूचीकृत कम्पनीहरुको सेयर खरिदमा चासो देखाएपछि बजार अझै चम्किने सम्भावना छ । बुधबार एकाएक आमहडताल घोषणाका कारण केही खच्किएको बजार बिहीबार भने सबै सम्भावनालाई चिर्दै अघि बढेको छ । यसको असर आइतबारको बारोबारमा देखिनेछ । यद्यपि, अन्तिम समयमा केही खच्किन खोजेको नेप्से सूचकको प्याट्रनले आइतबार केही समय बजारलाई दबाबमा भने राख्नेछ । बिहीबार ७ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।