काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार रकम र नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुवैैले नयाँ रेकर्ड कायम राखेका छन् ।
लघुवित्त र बिमामा उछाल आउँदा आइतबार बजार ४८.७४ अंक बढेर नेप्से परिसूचक २५२४ अंकमा पुगेको छ । नेप्से परिसूचक यो सर्वाधिक उच्च अंक हो ।
बजार खुल्नासाथ केही घटेको देखिए पनि पछि नेप्से निरन्तर उकालो लागेको थियो । नेप्सेले आइतबार दुई वटा रेकर्ड एकैसाथ कायम गरेको छ । लगानीकर्ता उत्साहित हुँदा बजारको माहोल तातेको हो । सोमबार पनि बजारले नयाँ गति लिने देखिएको छ ।

लगानीकर्ताहरू झुम्मिदा लघुवित्त समूह ३४४ अंकले बढेको छ । यस्तै जीवन बिमा ५७२ र निर्जीवन बिमा सूचक ४९० अंकले बढेको नेप्सेले जनाएको छ । जलविद्युत उत्पादन, वित्त समूहको सेयर मूल्य बढ्दा बैंकिङ, म्युचुअल फण्ड र विकास बैंक सूचक भने घटेको छ ।
लगानीकर्ता झुम्मिदा आइतबार ७ वटा लघुवित्त समूहको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । २९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको नेप्सेले जनाएको छ । तीमध्ये अधिकांश लघुवित्त संस्थाहरू छन् । बजारले नयाँ रेकर्ड कायम गरेपछि आम लगानीकर्तामा उत्साह थपेको छ ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, सस्तो ब्याजदर र कारोबार राफसाफको चक्रीय नियमले पनि बजारलाई बढाउने काम गरेको छ ।
लगानीको नयाँ क्षेत्र नभएपछि पछिल्ला दिनहरुमा नयाँ लगानीकर्ता थपिएका छन् ।

बजार बढेपछि १० अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा यो सबैभन्दा बढी हो । यसअघि १० अर्ब रुपैयाँ निजिकसम्म कारोबार हुँदै आएको थियो । आइतबार सबैभन्दा बढी हिमालय डिष्टिलरी लिमिटेडको कारोबार भएको छ ।
हिमालयनको प्रतिकित्ता ४८१४ मा ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनको नाफा साढे ५३ प्रतिशतले बढेपछि सेयर कारोबारमा उछाल आएको हो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेप्से परिसूचक २३१२ मा ३१ करोड ७६ लाख र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २७२९ मा ३१ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।