काठमाडौं । आउँदो एक महिनाभित्र समुन्द्रटार–त्रिशूली ३ ‘बी’ हब १३२ केभी प्रसारण लाइन सञ्चालनमा आउने भएको छ । कुल २६ किलोमिटरको लाइन निर्माणमध्ये हालसम्म १८ किलोमिटरमा ८४ वटा टावरमध्ये ७७ वटा टावर निर्माण भइसकेको र बाँकी एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए ।तर, बाँकी ७ वटा टावरको जग खनिसकिएको छ । पोल गाड्ने र तार तान्ने काम अघि बढेको थापाले बताए ।
‘समुन्द्रटार सबस्टेसनको काम पूरा भइसकेर परीक्षणको चरणमा छौं । प्रसारण लाइनतर्फ ८४ वटा टावरमध्ये ७७ वटा टावरको निर्माण सकिएको छ । बाँकी टावरको निर्माण अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आउँदो एक महिनाभित्र निर्माण सम्पन्न गरेर लाइन चार्ज गर्ने लक्ष्य छ ।’
गत २०७६ चैतमा नै प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोना महामारीका कारण आयोजना एक वर्ष ढिला हुन पुगेको थापाले बताए ।
केही समय प्रसारण लाइन आयोजना स्थानीयको अवरोध र मुआब्जाको समस्या फसे पनि अहिले त्यो समस्या हटिसकेको छ । निर्माणको काम जतिसक्दो छिटो सकिन्छ, त्यति छिटो लाइन चार्ज गर्न सकिने थापाको भनाइ छ । ‘विगतमा केही समस्या थिए ।
स्थानीयको अवरोध र मुआब्जा समस्या अहिले हल भइसकेका छन् । कुनै समस्या छैन,’ उनले भने, ‘अब निर्माणको गतिलाई नै अघि बढाउनुपर्ने छ ।’ नेपाल विद्युत् प्राधिकरणअन्तर्गत निर्माणाधीन समुन्द्रटार–त्रिशूली ३ बी प्रसारण लाइन नुवाकोटको पूर्वी भेग समुन्द्रटारदेखि त्रिशूली–३ बी हबसम्म जोडिनेछ ।
कुल १ अर्ब ६० करोड लागत अनुमान गरिएको प्रसारण लाइन निर्माणमा हालसम्म १ अर्ब ३५ करोड रुपैयाँ अर्थात ८५ प्रतिशत खर्च भइसकेको छ । सन् २०१६ फेब्रुअरीदेखि निर्माण थालिएको प्रसारण लाइन आयोजना २ वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो ।
तर, विभिन्न समस्या र अवरोधका कारण आयोजना लम्बिन पुग्यो । पछिल्लो एक वर्ष त कोरोना महामारीले नै निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ ।
चिनिँया ठेकेदार कम्पनी इटीईआरएन सीसीसीई/एफइपीइसी जेभीले प्रसारण लाइन निर्माण गरिरहेको छ ।
झन्डै २ सय ३० मेगावाट हाराहारीमा विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइनमा जोडिने गरी अहिले १०० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन र निर्माणको चरणमा जाने क्रममा छन् ।