काठमाडौं । निरन्तर ओझेलमा परेको बैंकिङ समूहमा चमक देखिँदा सेयर बजारमा थप हरियाली छाएको छ । आइतबार नेप्से सूचक र कारोबार रकमले नयाँ रेकर्ड राख्दा पनि बैंकिङ समूह भने ओरालो लागेको थियो । तर, सोमबार बैंकिङ समूहलाई जीवन बिमा र विकास बैंकले समूहले पनि साथ दिएका छन् ।
आइतबार जीवन तथा निर्जीवन र लघुवित्त समूहमा उछाल आएकाले ४८.७४ अंक बढेको थियो । आइतबार २५२४ अंकमा रोकिएको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक पहिलो ८ मिनेटमै बढेर २५६३ अंमा चढेको थियो । तर, आधा घण्टाको दौडानमा सूकच घटेर २५३८ मा आइपुग्यो ।
सेयर कारोबार रफ्तार बढेसँगै सेयर सूचक फेरी उकालो लाग्यो र अघिल्लो उच्च अंक भन्दा सामान्य तल २५६२.७६ अंकमा चढ्यो । त्यसपछि भने विस्तारै सूचक ओरालो लाग्न थाल्यो र अघिल्लो न्यूनतम विन्दू भन्दा माथि २५४३ अंकसम्म झर्यो ।
यो विन्दूमा आइपुग्दा कारोबार समयले साढे २ घण्टा लिइसकेको थियो । तर, त्यसपछि भने सूचक भर्याङ शैलीमा उकालो लाग्न थाल्यो । अन्तिम समयमा केही खच्किन खोजेको सूचक सम्हालिएर २५६१.४८ अंकमा रोकिएको छ । कारोबार प्रवृत्ति र सूचकलाई हेर्दा मंगलबार पनि बजार नयाँ छलाङ मार्ने सम्भावना छ ।
कारोबार रकमले आइतबारको कारोबारलाई छाडेर अघि बढेको छ र अहिले सम्मकै उच्च १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार १० अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार पनि नेप्से उचाईले रेकर्डेड तथा अनरेकर्डेड रुपमा नयाँ रेकर्ड कायम गरेको छ भने कारोबार रकमले आइतबारको कारोबार रकमलाई पछ्याएको छ । साेमबार बजार पुँजीकरण उच्च भएकाे छ । आइतबार भने ३३ खर्ब ९९ अर्ब बराबर थियाे । साेमबार ३४ खर्ब ५२ अर्ब ७५ कराेड बराबर बजार पुँजीकरण भएकाे छ ।
यसले बजारको उचाईलाई थप मापन गरेको छ भने नेपाल इन्फ्रास्टकचर डेभलपमेन्ट बैंक र चन्द्रागिरि हिल्सको प्राथमिक निष्काशनमा हालेको सेयर बाँडफाँड भएर नपरेको सेयरको रकम फिर्ता भएसँगै बजारले गति समाएको हो ।
बजारले नयाँ उचाई लिइरहँदा ओझेलमा परेको भनेर बाणिज्य बैंकको सेयर प्रति लगानीकर्ताको सधै गुनासो रहँदै आएको छ । तर, सोमबार भने अधिकांश बाणिज्य बैंकहरुको सेयर मूल्यले उचाई लिएको छ । यद्यपि, विगतमा बैंक बाहेकका कम्पनीहरुको जस्तो तीब्र उछाल भने छैन् । सोमबार पनि ग्रामिण लघुवित्त विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी ९.९२ प्रतिशतले बढेको छ ।
त्यसलाई पछ्याउँदै प्रभू बैंक (९.१७), प्रभू बैंक संस्थापक सेयर (८.७७), सनराइज बैंक (८.४५) र माछापुच्छ«े बैंक ८.३९ प्रतिशत छ । सोमबार कारोबार रकममा पनि वाणिज्य बैंक समूहको बर्चश्व छ । प्रभु बैंकको सबैभन्दा धेरै ६२ करोड १३ लाख । नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ७९ लाख,नबिलको ३३ करोड ४४ लाख बरारबको सेयर किनबेच भएको छ । उच्च कारोबार हुने १० कम्पनी मध्ये वाणिज्य बैंक समूहका ५ वटा छन् ।
बजारब बढे पनि अधिकांश लघुवित्त र जलविद्युत् कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार बैंकिङ ६२.७२, जीवन बिमा २११.३७, विकास बैंक ८६.४२, होटल फाइनान्स, अन्य र म्यूचुअल फण्डको समूह सूचक बढेपछि त्यसको रफ्तार नेप्सेमा परेको हो ।