काठमाडौं। सुनचाँदीको क्षेत्रमा काम गर्ने कालीगढको सीप विकास गर्ने उदेश्यले शुभगुरु फाउण्डेसन स्थापना भएको छ। अन्तरराष्ट्रिय स्तरको सुनचाँदीको गरगहना बनाउने सीप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने फाउण्डेसनले जनाएको छ।
शुभगुरु सुनचाँदी गृहका सञ्चालकद्धय सूर्य बराल र राधा गुरुङको २५औं विवाह वर्षगाँठको अवसरमा शुभगुरु फाउण्डेसनको स्थापना गरिएको हो। फाउण्डेसन स्थापनाको जानकारी दिन बिहीबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचादी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालीगढको सीप विकास र सम्मान गर्न फाउण्डेसन स्थापना हुनु सुनचाँदी क्षेत्रका लागि महत्वपूर्ण थालनी भएको बताए ।
निजीस्तरबाट गरिएको अभियानको प्रशंसा गर्दै अध्यक्ष महर्जनले राज्यले सुनचाँदी क्षेत्रमा भएका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको बताए । अध्यक्ष महर्जनले सुनचाँदी व्यवसायमा व्यवसायीको आर्थिक र सामाजिक उन्नति भए पनि यस व्यवसायमा अहोरात्र खटिने कालिगढको क्षमताको उचित मूल्यांकन नभएको अवस्थामा फाउण्डेसनको यो सानो प्रयास कोषेढुंगासावित हुने उनको भनाई थियो ।
फाउण्डेसनका संयोजक सूर्य बरालले सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढ र ब्यवसायीहरुको ज्ञान, सीप, कला र विद्दताको सम्मान गर्दै सुनचाँदी व्यबसाय क्षेत्रको वृहत्तर विकास, सम्बर्धन, संरक्षण गर्नुपर्ने बताए । गहनाको परम्परागत निर्माण शैलीलाइ आधुनिकीकरण र सहजिकरण गर्न आवस्यक पर्ने औजार र मेसीन खरिद गर्न सहयोग गर्नेमा बरालले जोड दिए । उनले गरिव, पिछडिएका र द्वन्दपिडित वर्गका लागि सीप विकास गर्न इच्छुक विद्यार्थीहरुलाई कालीगढी क्षेत्रमा सीप सिक्नका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम रहेको जानकारी दिए ।
फाउण्डेसनले कालिगढको सिप विकासका लागि १० लाख २५ हजार २५ रुपैयाको अक्षयकोष खडा गरेको छ भने उनिहरुको सिप र क्षमताको कदर गर्दै बार्षिक रुपमा पुरस्कृत गरिने जानकारी समेत दिएको छ।
नेपाल सुनचाँदी कला व्यवसायी संघका केशर सेञ्चुरी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष द्धारिकालाल शंकर, नेपाल सुनचाँदी कला व्यवसायी संघका निर्देशक हरि रसाइली, नेपाल सुनचाँदी कालीगढ संघका अर्जुन विश्वकर्माले नेपालमा कार्यरत ४ लाख कालिगढको विषयमा अहिलेसम्म कुनै मूर्त कार्यक्रमहरु नभएको अवस्थामा एउटा पसलको पहलमा स्थापना गरिएको फाउण्डेशनको उदेश्य र सोच महत्वपूर्ण भएको बताएका छन्।
उनीहरुले कालिगढको सिप र क्षमता विकासका लागि आवश्यक तालिम तथा विभिन्न कार्यक्रमहरुमा सुनचाँदी व्यवसायसग सम्वन्धित सम्पूर्ण संस्थाहरु फाउण्डेशनसग साथ र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा संखुवासभाका पूर्व सांसद डेडराज खड्काले फाउण्डेशनका सञ्चालकहरुको समाजमा केही गरौ भन्ने हुटहुटी फाउण्डेशन मार्फत पुरा हुने बताउदै सुनचाँदी व्यवसायलाइ अझ मर्यादित र सम्मानित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपस्थित अतिथि र सहभागिलाइ स्वागत गर्दै संस्थाकोतर्फबाट यामबहादुर गुरुङले फाउण्डेसनको उद्देश्य र भावी कार्ययोजनाको जानकारी गराए ।