काठमाडौं । गण्डकी प्रदेशका उप–सभामुख सृजना शर्माले उद्यमशीलताको विकासमार्फत् महिलाहरुलाई मूल प्रवाहमा ल्याउनु पर्ने बताएकी छन ।
पोखरा महिला चेम्बर अफ कमर्स कास्कीको दोस्रो साधारण सभाको उद्घाटन सत्रमा शर्माले आर्थिक समृद्धिका लागि महिला उद्यमशिल बनेर अघि बढ्नु पर्नेमा जोड दिइन ।
उपसभामुख शर्माले प्रतिष्पर्र्धाको युगमा परनिर्भरता रहँदा महिलाको समग्र विकासमा बाधा पुगेकोे औल्याउँदै आफूलाई सबल र सक्षम बनाएर आत्मविश्वास जगाउन आर्थिक विकासमा जोड दिनुपर्ने बताइन् । उनले स्थानीय तहमा सरकारले महिलालाई उद्यमशिल बनाउन सस्तो व्याजदरमा ऋण प्रदान गरेको स्मरण गराउँदै जाँगर चलाएर अघि बढ्न सके महिलालाई अवसरहरु प्रशस्त रहेको औंल्याइन ।
समाज हिजोभन्दा आज केही बदलिए पनि महिला माथिका हिंसा र विभेदका अनेक रुपहरु झनै फैलिरहेकाले चुनौतीको सामना गरेर अधिकार प्राप्तिको लडाइँमा लाग्न उनको आग्रह थियो ।
उनले महिलाले उत्पादन गरेका सामग्री प्राथमिकता दिएर स्थानीय एवम् स्वदेशी बस्तुको उत्पादनमा जोड दिएर बजारीकरणमा जोड दिन आवश्यक रहेको समेत औल्याइन ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका योगी शाहीले महिलाहरु पछिल्लो समय जागरुक भएर अघि बढे पनि आर्थिक रुपमा अझै सवल र सक्षम हुन नसकेको बताइन । उनले महानगरले उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरेको र न्यून व्याजमा महिलालाई लगानी गरेकाले अहिले उद्यमशिलतामा अघि बढ्ने महिलाको लागि अवसर रहेको धारणा राखिन् ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले देशकै अर्थतन्त्रलाई चलायमान बनाउन कमर्सले सशक्त भुमिका खेलेको बताए । उनले महिलाहरुलाई उद्यमशिलमा जोड दिएर व्यवसायिक छविका साथ स्थापित गराउन महिला समिति मार्फत् विभिन्न कार्यक्रममा जोड दिदै आएको बताए ।
महिला चेम्बरका अध्यक्ष गीता तिवारीले विभिन्न क्षमता तथा दक्षता हुँदा हुँदै पनि आर्थिक रुपमा सवल हुन नसकेका महिला सधै पछाडि पर्ने गरेको स्मरण गर्दै महिलाको आर्थिक विकासका कार्यक्रममा जोड दिएको बताइन् । उनले नेतृत्व तथा व्यत्तित्व विकाससँग, उद्यमशिलता, बैंकिङ् साक्षरता सम्बन्धी कार्यक्रमहरु गरेर महिला सदस्यहरुलाई उद्यमशिलताको लागि प्रेरित गर्दै अघि बढेको बताइन् ।
सो अवसरमा उद्यमशीलतामार्फत करिब साढे २ सयलाई रोजगार दिन सफल महिला उद्यमी दीपा बाँस्तोला र हालै पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्यमा नियुक्त भएका कलाकार मिलन शेरचनलाई सम्मान समेत गरिएको थियो ।
संस्थाका सल्लाहकार महिला उद्यमी विष्णु गुरुङ ‘एकता’, सदस्य कमला सुनार लगायतले उद्यमशिलतामा महिलाको सहभागिताको विषयमा आफ्नो भनाइ राखेका थिए । महिला चेम्बरका महासचिव साँग्रिला मरासिनिले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।