काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ गत फागुन १३ गते धुलिखेल अस्पतालअन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन् ।
सोही दिन चोङ र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए ।
प्रविधि तथा तथ्यांकका आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो । यस पहलअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरूलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ ।
धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदातालगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगहरू प्रदान हुँदैछ । अस्पतालले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङहरू र अनुगमन लगायतका कामहरू पनि गर्नेछ ।
पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरूमार्फत कार्यक्रम सञ्चालन हुनेछ । यी केन्द्रहरूले कुल १५ हजारभन्दा बढी घरधुरीका जन समुदायहरूलाई सेवा प्रवाह गर्छ ।
कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरूले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरूको उपचार सेवा पाउनेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने एनसेलको योजना छ ।
कार्यक्रमका बारेमा आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले भने, “स्वास्थ्य क्षेत्र हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको छ ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “प्रविधिको प्रयोगमार्फत दुरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि हो ।
टेलिमेडिसिन हस्तान्तरण र केन्द्रको उद्घाटनको अवसरमा बोल्दै धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ मकाजु श्रेष्ठले भने, “यस नवीन कार्यक्रमले ज्ञानलाई पनि हेर्न सकिने बनाउन सकिन्छ भनेर सिद्ध गरेको छ ।
एनसेलले ut साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संञ्चालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रमअन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य छ ।