काठमाडौं । न्यूनबिजकीकरण गरेर ल्याउँदै गरेको २ कन्टेनर सिसाका गाडी वीरगञ्ज भन्सार कार्यालयले रोकेको छ । भारतबाट ल्याइएका दुईवटा गाडीमा राखिएको सिसा र भन्सारलाई उल्लेख गरेको डकुमेन्ट नमिलेपछि न्यूनबिजकीकरण गरेर नेपाल भित्र्याउन लागिएको फेला परेको हो ।
अहिले वीरगञ्ज भन्सारको नियन्त्रणमा दुईवटा सिसाका कन्टेनर छन् । ‘एजेन्टले बुझाएको विवरण र आएको मालसामानबीच तालमेल मिलेको छैन, त्यही भएर नियन्त्रणमा लिएका छौं,’ वीरगञ्ज भन्सारका एक अधिकृतले भने, ‘आयातकर्ताले फटाइ गरेर सामान नेपाल छिराउन खोजेको देखिन्छ ।’
यो पनि हेर्नुहोस
कर्मचारीकै मिलेमतोमा छलिन्छ टफन ग्लासको भन्सारः तिर्नुपर्ने ३०, भित्रिन्छन् १५ प्रतिशतमै
२० फुटे कन्टेनरमा सिसा ल्याइएको छ । त्यो सिसाको मूल्याङ्कनमा बदमासी गरेको फेला परेको ती अधिकृतले जानकारी दिए । आयातकर्ताको भन्सार एजेन्टले बुझाएको विवरण र सामानको एमएम चेक गर्दा यस्तो खुलेपछि कन्टेनरलाई नियन्त्रणमा लिएको उनको भनाइ छ । उनका अनुसार भन्सारको नियन्त्रणमा २ वटा गाडी आएपछि अरु कन्टेनर पनि आउने सम्भावना रहेको देखिन्छ ।
भन्सार विभागमा यामलाल भुसाल प्रमुख भएर गएपछि न्यूनबिजकीकरण रोक्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुरुप भन्सारमा कडाई गर्दा न्यूनबिजकीकरण गरेर ल्याइएको सिसा फेला परेको हो ।
यो पनि हेर्नुहोस
यसरी भइरहेको छ टफन ग्लासको तस्करी, भन्सारका कर्मचारीले थाहा नपाएकै हुन ?
न्यूनबिजकीकरण भएर ठूलो परिमाणमा प्रशोधित सिसा भित्रिरहेको प्रमाण फेला पारेपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले यस विषयमा गम्भीर हुन भन्सारका अधिकारीलाई निर्देशन दिएका थिए । त्यसैगरी, आन्तरिक राजस्व विभागलाई पनि यस विषयमा जानकारी गराएका थिए ।
न्यूनबिजकीकरण गरेर टफन ग्लास (प्रशोधित सिसा) भित्र्याउने प्रचलन लामो समयदेखि चल्दै आएको छ । विभिन्न फ्रेममा टफन ग्लास राखेर ल्याउने कम भन्सार तिर्ने खेल वर्षौंदेखि चल्दै आएको छ ।
नेपालमा टफन ग्लास बनाउने उद्योग तीनवटा छन् । उनीहरुले थोरै मात्रै कच्चा सिसा ल्याएर त्यसलाई टफन बनाएर बेच्ने र न्यूनबिजीकरणमार्फत ठूलो परिमाणमा भारतबाट टफन ग्लास ल्याएर बेच्ने प्रक्रिया चलिरहेको थियो ।
यो पनि हेर्नुहोस
बारम्बार राजस्व अनुसन्धानको फन्दा परेको श्याम ग्लास पुनः कर छलीमै संलग्न
भन्सारका अधिकारीलेहरुले सिसाको प्रज्ञापनपत्र बुझाउँदा गाडीमा भएको सिसा चेकजाँच नगर्दा न्यूनबिजकीकरणमा ठूलो परिमाणमा प्रशोधित सिसा भित्रिरहेको छ । एकातिर सरकारले धेरै राजस्व गुमाइरहेको छ भने अर्कोतिर नेपालमा भएका टफन ग्लास बनाउने उद्योग धरासायी बन्न लागेका छन् ।
काँचो सिसा र टफन सिसा आकार नै फरक हुन्छ । काँचो सिसाको मूल्यमा टफन ग्लास भित्र्याउने काम भइरहेको छ । बारम्बार आल्मुनियमको झ्याल ढोकाका फ्रेममा मिलाएर टफन ग्लास चोरी पैठारी भइरहेका छन् ।
यो पनि हेर्नुहोस
रोकिएन टफन ग्लासको तस्करी, कर छलीको प्रमाण हुँदा पनि कारबाही गर्न सरकारको आलटाल
सरकारले साफ्टाअन्तर्गत आल्मुनियमका झ्याल ढोका ल्याउँदा ७.२५ प्रतिशत भन्सार तय गरेको छ । यस्तै, अन्य मुलुकबाट ल्याउँदा १५ प्रतिशत तोकेको छ । व्यापारीले चलाखी गर्दै आल्मुनियमको फ्रेममा टफन मिलाएर ल्याउने गरेका छन् ।
एकातिर आल्मुनियमको फ्रेममा मिलाएर ल्याउने गरेका छन् भने अर्कोतिर बढी एमएम ल्याएर प्रज्ञापन पत्रमा कम देखाएर भित्र्याउने समेत गरेका छन् । अहिले बढी एमएमको सिसा ल्याउँदा भन्सार मूल्याङ्कन बढी तिर्नुपर्छ । कम एमएमको ल्याउँदा कम मूल्याङ्कन तिर्दा हुन्छ ।