काठमाडौं । एकपछि अर्को नयाँ होटल खुल्दा कतिपय पुराना होटल टिक्न नसकेर बन्द हुने अवस्थामा पुगेका छन् । कतिपय पुराना होटल बन्द पनि भइसकेको छन् ।
नयाँ होटलसँग प्रतिस्पर्धा गर्न नसकेर पुराना होटलको हालत खराब भइरहेको अवस्था छ । तर, स्टिल उद्योगमा ठ्याक्कै उल्टो अवस्था छ । जति पुरानो स्टिल उद्योग छ, उति उसको मार्केट दरिलो र बलियो छ । त्यसैको जगमा टेकेर पुराना स्टिल उद्योगले बजारमा एकछत्र राज गरिरहेका छन् ।
‘पुराना स्टिल उद्योगले माथिदेखि तल्लो तहसम्म राम्रो जग बनाएका छन् । जुन कम्पनीको जग राम्रो छ, उसले बजारमा आफूलाई ज्यूँकात्यूँ टिकाएको छ,’ शंकर ग्रुपका अध्यक्ष शंकर गोल्यानले भने, ‘पुरानालाई बजारमा जति सहज छ, नयाँलाई त्यति सहज छैन ।’
पुराना स्टिल उद्योगको वर्षौंदेखिको संरचना छ । हरेक तहसँग विश्वासको वातावरण छ । त्यति मात्रै होइन्, पुराना कम्पनीका आफ्नै ग्राहक पनि हुन्छन् । त्यही भएर बजारमा प्रतिस्पर्धा गर्न सहज हुने पुराना उद्योगीको अनुभव छ ।
एकातिर बजारमा ओभर प्रडक्सन छ । अर्कोतिर विकास निर्माणको कार्य ठप्प प्रायः छ । यस्तो अवस्थामा नयाँ कम्पनीलाई बजारमा प्रतिस्पर्धी भएर उत्रिन झन सकस हुने गोल्यानको बुझाइ छ ।
केही महिनाअघिसम्म अन्तर्राष्ट्रिय बजारमा स्टिलको मूल्य आकासियो । अहिले विस्तारै बिलेटको मूल्य ओरालो लाग्ने क्रममा छ । महँगो मूल्यमा बिलेट किनेर टीएमटी बनाएका उद्योगले अहिलेसम्म मालसामान बेचिसकेका छैनन् ।
अब विश्व बजारमा बिलेटको मूल्य घटेसँगै यहाँ टीएमटीको मूल्य पनि ओरालो लाग्छ । महँगो मूल्यमा बिलेट ल्याएर सस्तो मूल्यमा बेच्ने बित्तिकै नयाँ उद्योगहरु झन अप्ठयारोमा पर्ने देखिन्छ ।
पुराना उद्योगीको आफ्नै खालको संरचना बनेको हुन्छ । थोरै मार्जिनमा काम गर्न सक्छन् । नयाँ उद्योगले पुरानाकै जति मार्जिन लिएर काम गर्न सक्ने अवस्था छैन् ।
स्टिल उद्योगबीच बढेको प्रतिस्पर्धाका कारण उपभोक्ताले सस्तो मूल्यमा रड किन्न पाएका छन् । कमभन्दा कम मार्जिन राखेर कसले आफ्नो सामान बेच्ने भन्ने उद्योगीबीच होडबाजी छ । त्यसले उपभोक्तालाई फाइदा पुर्याएको सौरभ समूहका प्रबन्ध निर्देशक विष्णुप्रसाद न्यौपानेले बताए ।
एक महिनाअघिसम्म प्रतिकेजी रडकाे मूल्य ८५ रूपैयाँ थियाे । अहिले ७५ रूपैयाँमा झरेकाे न्याैपानेले बताए । एक महिनाकै अविधमा रडकाे मूल्यमा १० रूपैयाँ घटेकाे र त्यसले उपभाेक्तालाइ ठूलाे फाइदा भएकाे उनकाे भनाइ छ । अब अन्तरराष्ट्रिय बजारमा बिलेटकाे मूल्य झन घटेकाले रडकाे मूल्य झन घट्ने उनकाे अनुमान छ ।
नेपालमा वार्षिक २० लाख टन रडको खपत हुन्छ । त्यसमा ६५ प्रतिशत व्यत्तिगत रुपमा घर बनाउनेले रड खपत गर्छन् । ३५ प्रतिशतमध्ये २० प्रतिशत निजी डेभलपरहरुले जलविद्युत्, हाउजिङ, अपार्टमेन्ट, बिजुलीको पोल बनाउन प्रयोग गरिरहेका छन् । १५ प्रतिशत मात्रै सरकारी आयोजनामा रडको प्रयोग भइरहेको छ ।