काठमाडौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजारमा लगानी बढाउन सुझाएका छन । अध्यक्ष ढुंगानाले कोषले कुल लगानीको ७ प्रतिशत मात्रै सेयर बजारमा लगानी गरेको भन्दै उनले बढाएर १२ प्रतिशतसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
स्वदेशी मात्रै नभएर विदेशी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता उनले औल्याए । कोषले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाको सेयरमा गरी १३ अर्ब रुपैयाँ लगानी गरेको छ । सेयर बजारमा लगानी गर्नका लागि कोषको अगुवाइमा नागरिक स्टक डिलर लिमिटेडले काम सुरु गरिसकेको छ ।
राजस्वसचिव रामशरण पुडासैनीले पुँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताएका छन । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको धारणा राखे । कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा
कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराइले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म कोषको सञ्चालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३ अर्ब ३० करोड रुपैया लगानी गरेको बताए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय सञ्चालन गरीरहेकोमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसंचालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको बताए ।
सो अवसरमा कोषले सचालन कार्यक्रमहरुमा कर्मचारी बचत वृद्धि अबकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानी कर्ता हिसाव योजना, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष,राष्ट्रिय अनुसन्धान बिमा कोष तथा नागरिक पेन्सन योजना लगायतका बारेमा जानकारी दिएको थियो ।