काठमाडौं । नेपालको मुख्य व्यापारिक साझेदार भारतले छिमेकी मुलुक चीनबाट मात्रै गत वर्ष सन् २०२० मा ५८ अर्ब ७१ करोड डलर बराबरको वस्तु आयात गरेको छ ।
दुई देशबीच सीमा विवादका कारण तनाव बढिरहेका बेला भारतले चीनबाट सो परिमाणको वस्तु आयात गरेको हो । रकमका आधारमा भारतले चीनबाट सबैभन्दा बढी आयात गरेको छ ।
चीनबाट भारतले टेलिकम्युनिकेसन, कम्प्युटर हार्डवयेर, इलेक्ट्रिक वस्तु, फर्टिलाइजर, रासायन, औषधि, मेसिन, उपकरण र इलेक्ट्रिोनिक्स वस्तु आयात गरेको छ ।
भारतले चीन, अमेरिका, इराक, संयुक्त अरब इमिरेट्स र साउदी अरबबाट धेरै वस्तु आयात गर्दै आएको छ । खाडी मुलुकबाट भारतले पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।
भारतले अमेरिकाबाट २६ अर्ब ८९ करोड, युनाइटेड अरब इमिरेट्सबाट २३ अर्ब ९६ करोड, साउदीबाट १७ अर्ब ७३ करोड र इराकबाट १६ अर्ब २६ करोड डलरको वस्तु आयात गरेको भारतको वाणिज्य मन्त्रालयले जनाएको छ ।
यी ५ वटा मुलुकबाट मात्रै भारतले गत वर्ष १ खर्ब ४३ अर्ब ५५ करोड डलर बराबरको वस्तु आयात गरेको छ । यो रकम कुल आयातको ३८.५९ प्रतिशत हो । सन् २०२० मा भारतले चीन, अमेरिकालगायत खाडी मुलुकहरूबाट ३ खर्ब ७१ अर्ब ९८ करोड डलर बराबरको वस्तु आयात गरेको थियो ।
पौने ४ खर्ब डलरको वस्तु विदेशबाट आयात गर्ने भारतसँग नेपालको व्यापार घाटा अधिक छ । गत वर्ष नेपालले भारतबाट ७ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँ अर्थात साढे ६ अर्ब डलरको वस्तु तथा सेवा आयात गरेको छ ।
चालू आर्थिक वर्षको ७ महिनामा मात्रै नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँको वस्तु आयात गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालको कुल वैदेशिक व्यापारमा भारतको हिस्सा ६५ प्रतिशत बढी छ ।