विराटनगर । जुत्ताचप्पल मेला विराटनगरमा बिहीबारदेखि सुरु भएको छ । कोभिड–१९ पछि लयमा फर्कन प्रयासरत आर्थिक क्षेत्रलाई सहयोग पुग्ने गरी विराटनगरमा जुत्ता–चप्पल मेला सुरु भएको छ ।
नेपालमै उत्पादन गरेका जुत्ताचप्पलको प्रवद्र्धन हुने गरी विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको मेलालाई यस पटक पनि निरन्तरता दिएको हो । नेपाली उत्पादनसँग नेपाली उपभोक्तालाई मेलाले प्रत्यक्ष जोड्ने आयोजकको भनाइ छ ।
नेपालमा फस्टाउँदो उद्योग÷व्यवसयाको रूपमा आएको जुत्ताचप्प मेलाले उपभोक्तासँग जोडिन प्रभावकारी हुने मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । गुणस्तरहीन विदेशी फुटवयरको बिगबिगी भएकाले नेपाली उत्पादन चिनाउन पनि मेलाको आयोजना गरिएको उपाध्यायले बताए ।
विदेशबाट कमसल र न्यून बिजीकरण भएर आउने जुत्ताचप्पल नेपालको गुणस्तरीय उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन हुने उद्योगीहरुको भनाइ छ । नेपालमा हाल साना, मझौला र ठूला गरेर १५ सय जुत्ताचप्पल उद्योग सञ्चालनमा छन् । नेपालको जुत्ताचप्पल उद्योगमा १७ अर्बको लगानी रहेको फुटवयर एसोसिएसनले जनाएको छ ।
वार्षिक रूपमा ५ करोड जोर जुत्ताचप्पल उत्पादन गरेर बजारमा पठाउने गरेको मेलाका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । वार्षिक कारोबार ३२ अर्ब रहेको फुटवयर उद्योगले ५५ हजारलाई प्रत्यक्ष रोजगारी दिएको उपाध्यायले बताए ।
एक नेपालीले वार्षिक तीनजोर जुत्ताचप्पल प्रयोग गर्ने भएकाले नेपालमा ९ करोड जोर जुत्ताचप्पलको माग रहेको फुटवयर एसोसिएसनको अनुमान रहेको छ । नेपालमा फुटवयर खपतको ६३ प्रतिशत नेपाली उत्पादनले धानेको फुटवयर एसोसिएसनका उपाध्यक्ष नानिराज घिमिरेले बताए । भारतबाट हुने चोरी पैठारीले कठिन भएको बताएका उनले यस्ता मेलाले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष जोडन सहयोग पुग्ने सुनाए ।
विगत तीन वर्षदेखि विराटनगरमा सञ्चालन हुँदै आएको जुत्ताचप्पल वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा १२ वटा कम्पनीका २० वटा ब्राण्डका जुत्ताचप्पल रहने आयोजकले जनाएको छ । मेलामा विभिन्न मोडलका ५ हजार जोर जुत्ताचप्पल रहने आयोजकले जनाएको छ । मेलामा २ लाख ५० हजार जोर जुत्ता–चप्पल बेच्ने आयोजकको लक्ष्य छ ।
मेलामा १ सय रुपैयाँदेखि १० हजारसम्मका जुत्ता–चप्पल रहने संयोजक उपाध्यायले जानकारी गराए । मेलामा उपभोक्ताले १० देखि ५० प्रतिशतसम्म छुट पाउन सक्ने उनले बताए । मेला अवलोकनको लागि दैनिक २० हजारभन्दा बढी उपभोक्ता आउने आयोजकको अपेक्षा छ ।
व्यापार मेलाको शुभारम्भ गरेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उपभोक्ताको चाहना अनुसारका उत्पादन गरेर विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सके मात्र नेपाली उत्पादन दिगो हुने बताए ।