काठमाडौ । वहुमूल्य धातु सुनको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार भाउ बढेर प्रतितोला ६८ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै सबैभन्दा बढी मूल्य हो । साेमबार ६७ हजार ८ सय पुगेकाे थियाे ।
साउनकाे सुरूदेखि नै सुनकाे मूल्य बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघकाे भनाइ छ । साउन १ गते प्रतिताेला सुनकाे मूल्य ६४ हजार ५ सय थियाे ।
अन्तर्राष्ट्रिय बजारमा बढेपछि यसको असर नेपाली बजारमा परेको हो । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले ब्याजदर कटौती गरेपछि यसको असर सुन बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ब्याजदर बढेपछि विकल्पको रुपमा लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । अहिले स्थानीय बजारमा किन्ने भन्दा बेच्ने बढी रहेको महासंघले जानकारी दिएको छ ।
अमेरिका र चीनबीचको व्यापार वार्ता विफल भएपछि यसको असर सुन बजारमा परेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । गत शुक्रबार चीन र अमेरिकाबीचको व्यापार वार्ता विफल भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ३ खर्ब डलरको थप वस्तुमा १० प्रतिशत भन्सार शुल्क लगाएपछि यसको असर बजारमा परेको उनको भनाइ छ ।
अमेरिका र चीनबीचको व्यापार युद्धले अझै केही दिन सुन बजारलाई बढाउने संकेत गरेको शाक्यको भनाइ छ । पछिल्लो समयमा अमेरिकाको केन्द्रीय बैङ्क फेडरल रिजर्वले ब्याजदर ०.२५ प्रतिशत घटाएको, सेयर बजार घटेपछि लगानीकर्ता सुनमा आर्कषित हुँदा बजारमा सुनको भाउ बढेको उनको भनाइ छ ।
केन्द्रीय बैङ्कहरुले सुनको सञ्चिती बढाएका छन् । भारतमा काश्मीर विवादले गर्दा डलरसँग भारु कमजोर हुन गई असरको प्रभाव सुन बजारमा परेको शाक्यले जानकारी दिए । भारु कमजोर भएपछि नेपाल राष्ट्र बैङ्कले मंगलबार १ डलर बराबर ११३ रुपैयाँ ४९ पैसा बिक्री मूल्य तोकको छ ।
किन्ने भन्दा बेच्ने बढी
सुनको भाउ अकस्मात् बढेपछि स्थानीय सुन बजारमा बेच्नको भीड लागेको शाक्यले बताए । धेरै ग्राहकले सुन बेच्न आउँदा पुँजीले नधान्ने अवस्था आएको उनले बताए । भाउ बढेपछि सुन बिक्रीमा भारी गिरावट आएको छ । बेच्नेको संख्या भने बढेको उनले बताए ।